चौथो शक्ति महासंग्राममा



रामकृष्ण चापागाईं, काठमाडौं
लुकको चौथो राजनीतिक शक्तिका रूपमा रहेको राप्रपाको एकीकृत महाधिवेशन शुक्रबारबाट शुरू भएको छ। दुई पार्टीबीचको एकीकरणले दुवै पक्षका कार्यकर्ता उत्साहित भए पनि नेतृत्वको दाबी भने दुवै पक्षबाट हुन थालेको छ।
केही दिनअघि सो पार्टीको अध्यक्ष पदमा कमल थापा सर्वसम्मत हुनुभएको बताइए पनि शुक्रबार अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले पनि सो पदमा दाबी गर्नुभएको छ। यसको छनक शुक्रबारको उद्घाटन सत्रमा पनि देखिएको थियो। सो कार्यक्रममा पुरानो राप्रपाले आफ्नो चुनाव चिह्न हलो हुनुपर्ने दाबी गरेको थियो भने विगतको राप्रपा नेपाल पक्षधरले गाई हुनुपर्ने बताउँदै आएका छन्।

चौथो शक्ति भएको नाताले पार्टीभित्रको आन्तरिक महासंग्रामबाट कस्तो नीति र नेतृत्व तय हुन्छ भन्ने कुरा सर्वत्र चासोका रूपमा हेरिएको छ। विभिन्न पदका लागि निर्वाचन भने आगामी सोमबार हुने बुझिएको छ। राप्रपाले जारी एकता महाधिवेशनलाई ऐतिहासिक र स्वर्णिम अवसरका रूपमा सदुपयोग गर्ने जनाएको छ।

मुलुकको चौथो शक्तिका रूपमा रहेको राप्रपाले एकता महाधिवेशन समापन गरेलगत्तै पार्टी एकतालाई थप मजबुत बनाउँदै चुनावकेन्द्रित कार्यक्रममा जुट्ने समेत जनाएको छ। साथै पार्टी एकीकरण गरी तीन महिनाभित्र गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशनमा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गरी अन्य पार्टीका लागि उदाहरण प्रस्तुत गर्ने पनि राप्रपाले जनाएको छ। राप्रपाले अन्य राजनीतिक दललाई राजसंस्था र हिन्दु राज्यसँग नझस्कन पनि आग्रह गरेको छ। अहिले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत भएको भन्दै राप्रपाले समर्थन गर्न नसकिने पनि स्पष्ट पारेको छ।

शुक्रबारदेखि राजधानीमा जारी महाधिवेशनको उद्घाटन कार्यक्रममा अन्य राजनीतिक दलका शीर्ष नेताले राप्रपालाई फरकफरक सुझाव दिएका छन्। उद्घाटन कार्यक्रममा शुभकामना दिन पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक हिसाबले फरक भए पनि सँगै मिलेर अघि बढ्न आग्रह गर्दै संविधान संशोधनमा सघाउन आग्रह गर्नुभयो।

कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाको नीति तथा कार्यक्रम संविधान संशोधन गरी निर्वाचन केन्द्रित हुनुपर्ने बताउनुभयो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन राष्ट्रघाती भएको भन्दै यसको विपक्षमा उभिन सुझाव दिनुभयो। साथै एमाले अध्यक्ष ओलीले राप्रपा महाधिवेशनपछि एमालेबाहेक अन्य सबै दललाई धक्का दिन सक्ने क्षमताका साथ आउने आफूलाई विश्वास भएको पनि बताउनुभएको थियो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने राप्रपा नेपालकै पहिलो शक्तिका रूपमा आउन सकोस् भनी शुभकामना दिनुभयो।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले राप्रपासँग विगतमा पनि मिलेर अघि बढेको भन्दै अब पनि सँगसँगै मिलेर अघि बढ्न चाहेको बताउनुभएको थियो। राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले राप्रपा र आफ्नो एजेन्डा धेरै नमिले पनि मिलौं–मिलौं लाग्ने गरेको बताउनुभएको थियो। ‘किन हो किन सहकार्य गरौं–गरौं लाग्छ, टाढा नजानु होला’ –प्रधानमन्त्री प्रचण्डले भन्नुभयो। राप्रपाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानसभाबाट संविधान जारी गर्न र शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको हैसियतले आफूमा निकै ठूलो जिम्मेवारी रहेको भन्दै परिपक्व राजनीतिक पार्टीको हैसियतले राप्रपाले निर्वाचन र संविधान संशोधन प्रक्रियालाई सकारात्मक ढंगले सम्पन्न गर्न भूमिका खेल्नुपर्ने बताउनुभएको थियो।

संविधान जारी गर्ने बेलामा नै प्रमुख तीन दलले संशोधनमा प्रतिवद्धता जनाएको र त्यसअनुसार नै सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्डले मुलुक लामो संक्रमणकालीन अवस्थाबाट अघि बढिरहेको संविधान कार्यान्वयनका लागि निर्वाचनको अपरिहार्यतामा बताउनुभएको थियो। साथै उहाँले संविधान जारी गर्ने बेलामा जस्तै कार्यान्वयनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो।

महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै कांग्रेस सभापति देउवाले भन्नुभयो– ‘संविधान बनेको छ, यसको कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र संघीय चुनाव गर्नुपर्नेछ। साथै चुनावमा सबै पार्टी सहभागी हुनुपर्ने भन्दै उहाँले मधेसीदलको भावनालाई कदर गर्दै आएको संविधान संशोधन प्रस्ताव ल्याएको र राप्रपाले महाधिवेशनमा यस बारेमा छलफल गर्नुपर्ने बताउनुभयो। एमाले अध्यक्ष ओलीले राप्रपाले सबै पार्टीलाई धक्का दिनसक्छ भनी दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो– ‘यसअघिको निर्वाचनमा राप्रपाको सबैभन्दा बढी भोट झापाबाट आएकाले ओलीजीले विचार गर्नुपर्छ।’ अहिले सबै वहुदलीय व्यवस्थामा आएकाले नेपाली कांग्रेसको ठूलो विजय भएको कांग्रेस सभापति देउवाको भनाइ थियो।

उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीले देश अत्यन्त सक्रमणकालीन अवस्थामा गुज्रिरहेको बेला राप्रपाको महाधिवेशन भइरहेको भन्दै राष्ट्रियताको पक्षमा अझ दरिलोसंग राप्रपा उभिने बताउनुभयो। मुलुकमा चौतर्फि आक्रमण भइरहेको बेलामा पनि राप्रपा विगतमा दरिलोसंग उभिएकाले अब एकता महाधिवेशन पछि अझ स्पष्ट र दुविधा नहुने गरी उभिने आपूmलाई विश्वास भएको उहाँले बताउनुभएको थियो। ‘राप्रपाले एमालेबाहेक सबैलाई धक्का दिन सक्छ’ ओलीले भन्नुभयो– अहिले आएको संविधान संशोधन राष्ट्रघाती भएकाले राप्रपाले यसलाई मान्नुहुँदैन। जबरजस्ती संविधान संशोधन ल्याएर सबैलाई मान्य हुने भनिएको भन्दै एमाले अध्यक्ष ओलीले देश र जनताको विरुद्धमा रहेको संविधान संशोधनलाई पारित गर्न नदिने भनी उद्घोष पनि गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा ठूला राजनीतिक दलहरूले गर्दा नै अहिलेको संविधान कार्यान्वयनमा समस्या देखिएको भन्दै फोरम लोकतान्त्रिकका गच्छदारले अहिलेको जटिल समस्या समाधान गर्न राप्रपाले निर्णायक भूमिका निभाउनुपर्ने बताउनुभएको थियो। साथै उहाँले राप्रपा अहिले देशको चौथो पार्टी भए पनि आगामी निर्वाचनबाट पहिलो पार्टी बन्न सकोस् भनी शुभकामना पनि दिनुभएको थियो। उद्घाटन कार्यक्रममा नेता हृदयेश त्रिपाठीले अहिलेको संविधान अपुरो र अधुरो रहेको भन्दै संविधान संशोधनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। साथै उहाँले राप्रपाको पार्टी एकीकरणको प्रशंसा गरी अन्य पार्टीले पनि यसलाई उदाहरणका रूपमा अनुसरण गर्नुपर्ने बताउनुभएको थियो।

कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले राप्रपाको महाधिवेशनको सफलताको कामना गर्दै देशको स्वतन्त्रता, अखण्डता र स्वाभिमानमाथि आएको खतरालाई सामना गर्न सक्ने शक्ति बन्न आग्रह गर्नुभयो। शुभकामना दिन आउनुभएका सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले राप्रपाको एकीकरणलाई अन्य पार्टीले पनि अनुकरण गर्नुपर्ने बताउनुभएको थियो। देशका सबै समूहको सम्बोधन नभएसम्म राष्ट्रवादको नाराले मात्र केही नहुने भन्दै उहाँले राप्रपाको यो महाधिवेशनले देशलाई निकास दिन सक्ने नीति निर्माण गर्नुपर्ने पनि बताउनुभएको थियो। अधिवेशनको शुभकामना दिने क्रममा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले राप्रपा र आफ्नो पार्टीबीच धेरै कुरामा मतभेद भए पनि राष्ट्रिय भावनामा भने एक हुने बताउनुभएको थियो। कार्यक्रममा नयाँशक्तिका नेता गंगा श्रेष्ठले संविधान कार्यान्वयनमा सघाउन राप्रपालाई आग्रह गर्नुभएको थियो।

राप्रपाको महाधिवेशनलाई शुभकामना दिन भारतबाट आउनुभएका कांग्रेस आईका नेता एवं पूर्वमन्त्री डा. अखिलेशप्रसाद सिंहले नेपालको संक्रमणकालीन अवस्थाप्रति भारत चिन्तित भएको भन्दै मधेसी जनताको माग सम्वोधन गर्न जरुरी रहेको धारणा राख्नुभएको थियो। उहाँले भारतको स्वतन्त्रताको आन्दोलनमा नेपालले ठूलो योगदान दिएको चर्चा गर्दै भारत पनि नेपाल स्वतन्त्र देशको पक्षमा रहेको उल्लेख गर्नुभएको थियो। भारतले नेपाल समृद्ध राष्ट्र बनोस भन्ने चाहेको भन्दै उहाँले जलविद्युतको राम्रो उपयोग भए नेपालले नसोचेको आर्थिक समृद्धि प्राप्त गर्ने उहाँको भनाइ थियो।

उद्घाटन कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले राप्रपालाई एउटा ठूलो र ऐतिहासिक अवसर आएको भन्दै यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनु भएकोथियो। मुलुकको वर्तामान राजनीतिक अवस्थाबारे उहाँले एक वर्षभित्र तीनवटा निर्वाचन गर्न नसके देश गम्भिर संकटमा पर्ने बताउनुभएको थियो। महाधिवेशनले राप्रपाको चुनाव चिन्ह हलो राख्न सहमत हुनुपर्ने उहाँको माग थियो।

महाधिवेशन उद्घाटन कार्यक्रमको समापन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख दलहरूको अकर्मन्यताका कारण अझैसम्म मधेसको समस्या समाधान हुन नसकेको बताउनुभयो। संविधान संशोधनबाटै समस्या समाधान हुने बताए पनि अध्यक्ष थापाले अहिले सरकारले ल्याएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरीत भएकाले समर्थन गर्न नसक्ने बताउनुभएको थियो। अध्यक्ष थापाले चुनाव मिति घोषणा ढिला भइसकेको भन्दै सरकारले चुनाव घोषणा गरे राप्रपाले समर्थन गर्ने र पहिलो दल राप्रपा नै पनि बताउनुभएको थियो। उद्घाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले गणतन्त्रवादीहरू राजसंस्थासँग नझस्कन र राजसंस्था पक्षधरहरू गणतन्त्रवादीहरूसँग नतर्सन पनि आग्रह गर्दै दुवै पक्षसँग सामञ्जस्यता मिलाएर चमत्कार गर्नुपर्ने कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्