मानव अंग प्रत्यारोपण केन्द्रमा आधुनिक उपकरण



नेपाल समाचारपत्र
भक्तपुर
स्वास्थ्यमन्त्री गगन थापाले आमनागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ। भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको बिहीबार साँझ उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुविधा सम्पन्न बनाउने तयारी भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकारी अस्पताललाई सुदृढ र तिनको सेवा विस्तार गर्दै नागरिकलाई स्वेच्छाले उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको छ।’ स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र यसमा सबैको पहुँच पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको बताउँदै उहाँले अहिलेको बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालमा छिटो औषधि पुर्याउन पहल भइरहेको बताउनुभयो।

नेपालमै पहिलोपटक सफल रूपमा कलेजो प्रत्यारोपण गरेर नेपालले स्वास्थ्य क्षेत्रमा केन्द्रले ठूलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो। कानुनले अब मस्तिष्क मृत्यु भएका व्यक्तिबाट सातवटा अंग दान दिन तथा लिन मिल्ने व्यवस्था भइसकेको चर्चा गर्दै मन्त्री थापाले त्यसका लागि आमनागरिकमा जनचेतना जगाउनु आवश्यक भएको औंल्याउनुभयो।

केन्द्रलाई स्थान अभाव भएको सन्दर्भमा नेपाल ट्रस्टको जमिन केन्द्रलाई उपलब्ध गराउनका लागि मन्त्रालयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री थापाले बताउनुभयो। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरू समेटिएको २ वटा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको स्थापनाले केन्द्र प्राविधिक रूपमा आत्मनिर्भर भएको बताउनुभयो।

नेपालमै पहिलोपटक उच्च स्तरको मोडुलर ओटीको स्थापना भएको बताउँदै डा. श्रेष्ठले यसबाट केन्द्रलाई कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई अझै सहज बनाउन र निरन्तरता दिन हौसला मिलेको बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र केन्द्रका डा. मोहनदेव भण्डारीले केन्द्रले अंग प्रत्यारोपणसँगै अरू सेवा पनि विस्तार गर्दै लगेको बताउनुभयो। कार्यक्रममा भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशराज न्यौपाने, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्का, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्