आगलागीबाट रु पाँच लाख बराबर क्षति



लहान, ६ फागुन । सिरहाको कचनारीमा गएराति भएको आगलागीमा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फरार साह २२ वर्षपछि पक्राउ

यसैबीच, राहदानी किर्ते मुद्दामा अदालतबाट कैद सजाय पाएर २२ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले गएराति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले राहदानी किर्ते मुद्दामा सिरहा जिल्ला अदालतबाट १ महिना कैद तथा दुई हजार जरिवानाको सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१२ निवासी कामेश्वर साहलाई २२ वर्षपछि पक्राउ गरेको हो ।

सिरहा जिल्ला अदालतले २०५१ चैत ३० गते राहदानी किर्ते मुद्दामा सो सजायको फैसला गरेको थियो । अदालतको फैसलापश्चात् फरार रहेका साहलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्