सल्यानमा अनौठो धातु फेला



नेपाल समाचारपत्र
सल्यान
सल्यानमा अनौठो धातु फेला परेको छ। जिल्लाको लेखपोखरा गाविस–१ ढगढगेमा रहेको पर्यटकीय स्थलका रूपमा चिनिएको साततले चाँदनी गुफादेखि मन्दिरसम्मको पदमार्ग कम्पाउन्ड निर्माण गर्ने क्रममा धातु फेला परेको हो।

ढुंगा निकाल्दै गर्दा ढुंगा बीचमा गाडिएको अवस्थामा उक्त धातु फेला परेको साततले चाँदनी गुफा संरक्षण समितिका सचिव टोपेन्द्र पुनले जानकारी दिनुभयो। धातु चिलिम आकारको तथा सुनजस्तो पहेंलो देखिने गरेको उहाँले बताउनुभयो। धातु हेर्न आउनेको भीड लागेको छ।

उहाँले भन्नुभयो– ‘अनौठो किसिमको धातु भेटियो धातुलाई चिन्न सकिएको छैन, धातुलाई अहिले मन्दिरभित्र राखेका छौं। पहिले यो गुफा पनि यसरी नै भेटिएको थियो गुफा भेटिएपछि सबैले संरक्षण गरी मन्दिर बनाई प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन सिद्धबाबाको पूजा गर्ने गरिन्छ।’ त्यस गुफा मन्दिरमा पूजा गरेपछि आफ्नो मनोआकांक्षा पूरा हुने पनि धार्मिक विश्वास रहेको छ।

सल्यान पर्यटकीय एवम् धार्मिकस्थलका लागि अग्रणि गन्तव्य हो। जिल्लाको लेखपोखरामा रहेको विभिन्न ऐतिहासिक चिजहरूले सुसूचित चाँदनी साततले गुफा पनि एक हो, जहाँ ढुंगाबाट सजिएका आकर्षक मादल, तबेला, भगवानका मूर्तिहरू, ढुंगाबाट निस्कने पानीको मूल, एउटा गुफाबाट छिरेर अर्को गुफामा निस्कने मार्ग तथा सुन्दर शारदाका फाँटहरूको त्यहाँबाट दृश्य अवलोकन गर्न सकिन्छ। साततले चाँदनी गुफा हेर्न पुगेका अधिकांश मान्छेहरू निकै आश्चर्यचकित पर्ने गरेका छन्। त्यस ठाउँलाई आवश्यक प्रचारप्रसार गर्ने सके जिल्लाको पर्यटकीय सम्भावना अझै मजबुत हुने त्यहाँका स्थानीयले बताउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्