खेलकुदको ओस्कार बन्दै लाउरेस अवार्ड



कविरस शर्मा
लाउरेस वल्र्ड स्पोर्ट्स अवार्डलाई खेलकुद जगत्को ओस्कार अवार्डका रूपमा लिन थालिएको छ। सन् १९९९ मा लाउरेस स्पोर्ट्स फोर गुड फाउन्डेसनका संरक्षकद्वय जर्मनीको डेमलर तथा स्विजरल्यान्डको रिचमोन्टे तथा विश्वप्रसिद्ध व्यापारिक संस्था मर्सिडिज बेन्ज र आईडब्ल्यूसी स्काफहाउसेनको संयुक्त प्रयासमा यो अवार्डको स्थापना गरिएको हो। सन् २००० बाट पहिलोपटक मोनाकोबाट प्रदान गर्न थालिएको यस अवार्डले अहिले १८औं संस्करण पार गरिसकेको छ।

वार्षिकरूपमा दिइने यो अवार्ड विश्व खेलकुदमा वर्षभरि गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रदान गरिँदै आएको छ। विश्व खेलकुदअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुनेले यो अवार्ड प्राप्त गर्दै आइरहेको छ। जसअन्तर्गत वल्र्ड स्पोर्ट्स म्यान अफ दि इयर, वल्र्ड स्पोर्ट्स ओमन अफ दि इयर, वल्र्ड टिम अफ दि इयर, वल्र्ड कमब्याक अफ दि इयर, वल्र्ड ब्रेकथ्रो अफ दि इयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पोर्ट्स फोर गुड अवार्ड, वल्र्ड एक्सन स्पोर्ट्स पर्सन अफ दि इयर र वल्र्ड स्पोर्ट्स पर्सन अफ दि इयर विथ डिसएबिलिटी विधामा अवार्ड प्रदान गरिन्छ।

लाउरेस मनोनयन प्यानलले प्रत्येक विधाबाट ६ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिन्छ। जसमध्येबाट एक जनाको नाम विजेताको रूपमा घोषणा गरिन्छ। प्यानलले छनौट गरेकालाई विभिन्न खेलसम्बद्ध व्यक्ति, पत्रकार तथा लेखक र लाउरेस वल्र्ड स्पोर्ट्स एकेडमीका सदस्यहरूले दिएको मतको आधारमा विजेताको घोषणा गरिन्छ। जसमध्ये वल्र्ड एक्सन स्पोर्ट्स पर्सन अफ दि इयर र वल्र्ड स्पोर्ट्स पर्सन अफ दि इयर विथ डिसएबिलिटीको विजेताको छनौट भने तोकिएको प्राविधिक टोलीको विशेषज्ञको छनौटको आधारमा गरिन्छ। योबाहेक केही समययता स्पिरिट अफ स्पोर्ट्स अवार्ड र एक्ससेप्सनल एचिभमेन्ट अवार्ड जस्ता विधा पनि थपिएका छन्।

लाउरेस अवार्डले १८औं संस्करण पार गरिसक्दा पुरुषतर्फ प्रदान गरिने वल्र्ड स्पोर्ट्स म्यान अफ दि इयर जम्मा ८ खेलाडीले मात्र प्राप्त गरेका छन्। जसमध्ये सर्वाधिक तीन पटक उक्त अवार्ड जित्नेमा तीन खेलाडी छन्। एथ्लेटिक्सका उसेन बोल्ट तथा टेनिसका दुई खेलाडी रोजर फेडररले समान चार पटक तथा टेनिसकै नोभाक जोकोभिचले तीन पटक यो अवार्ड जितेका छन्। यस्तै महिलातर्फ प्रदान गरिने वल्र्ड स्पोर्ट्स ओमेन अफ दि इयरको उपाधि जित्ने सूचीमा १५ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। महिलावर्गमा पनि टेनिस खेलाडीले नै सर्वाधिक उपाधि उचाल्ने श्रेय पाएको छ। अमेरिकी टेनिस क्विन सेरेना विलियम्सले सर्वाधिक तीन पटक यस अवार्डमा आफ्नो नाम लेखाइसकेकी छिन्।

लाउरेस अवार्ड २०१७
गत बुधबार सन् २०१७ को लाउरेस अवार्ड प्रदान गरिएको थियो। यस पटक वल्र्ड स्पोर्ट्स म्यान अफ दि इयरको विधामा जमैकाका एथ्लेटिक्स खेलाडी उसेन बोल्टले चौथो पटक बाजी मारे। यस्तै सन् २०१७ को वल्र्ड स्पोर्ट्स ओमेन अफ दि इयरको उपाधि अमेरिकी जिम्न्यास्टिक खेलाडी सिमोन बाइल्सले जितिन्। गत वर्ष रियो ओलम्पिकमा ४ स्वर्ण र १ कांस्य जितेका कारण उनी यस अवार्डका हकदार बनेकी हुन्।

यस्तै लाउरेस टिम अफ दि इयरको अवार्ड भने यस पटक अमेरिकी बेसबल टोली सिकागो कब्सको पोल्टामा परेको छ। सन् २०१६ मा वल्र्ड सिरिज, नेसनल लिग र सेन्ट्रल डिभिजनको उपाधि जितेका कारण सिकागो कब्स लाउरेस टिम अफ दि इयर घोषित भए।

सर्वकालीन ओलम्पियन पौडीबाज माइकल फेल्प्स यस पटक लाउरेस कमब्याक अफ दि इयर अवार्डबाट सम्मानित भएका छन्। सन् २०१२ मा पौडीबाट संन्यास लिएका उनले खेलमा पुनरागमन गर्दै गत वर्ष रियोमा सम्पन्न ओलम्पिकमा पाँच स्वर्ण जित्न सफल भएका थिए। यस्तै खेलकुदका उदीयमान खेलाडीलाई प्रदान गरिने ब्रेकथ्रु अवार्ड यस पटक फर्मुला वान च्याम्पियन निको रोसवर्गलाई प्रदान गरिएको छ। यसै गरी इटालीका तरवारबाज बेट्राइस वियोलाई डिसेबल अवार्ड र ओलम्पिकको शरणार्थी टिमलाई यो वर्ष स्पोर्ट्स फोर गुड अवार्डबाट सम्मानित गरिएको छ।

डाउनहिल माउन्टेन बाइक रेसिङका ब्रिटिस खेलाडी राचेल अथर्टन लाउरेस एक्सन स्पोर्ट्स पर्सन अफ दि इयर, इंग्लिस प्रिमियर फुटबल क्लबले लेस्टर सिटीले स्पिरिट अफ स्पोर्ट्स अवार्ड र चिनियाँ टेनिस खेलाडी ली नालाई एक्ससेप्सनल एचिभमेन्ट अवार्डबाट सम्मानित भएको छ। यस्तै लाइफ टाइम एचिभमेन्ट अवार्डबाट अस्ट्रियाकी फर्मुला वान खेलाडी निकी लाउडा सम्मानित भइन्।

सर्वाधिक लाउरेस अवार्ड विजेता
विश्व खेलकुदको महत्त्वपूर्ण सम्मान भए पनि लाउरेस अवार्डले फिफा वर्ष खेलाडी अवार्ड जत्तिको चर्चा भने पाउनसकेको छैन। सन् २००० देखि वार्षिकरूपमा विश्व खेलकुदका उत्कृष्टहरूलाई प्रदान गर्न थालिएको यस अवार्ड तीन पटकसम्म जित्नेमा तीन पुरुष खेलाडीहरू छन्। यस्तै टेनिसका सेरेना विलियम्स लाउरेस स्पोर्ट्स ओमेन अफ दि इयर अवार्डमाथि ह्याट्रिक गर्ने एक मात्र महिला खेलाडी हुन्। लाउरेस अवार्डका पर्याय बनेका यिनै खेलाडीहरूको यहाँ संक्षेपमा चर्चा गरिएको छ।

उसेन बोल्ट, (एथ्लेटिक्स)
उसेन बोल्टगत बुधबार सन् २०१७ को लाउरेस वल्र्ड स्पोर्ट्सम्यान अफ दि इयर अवार्डबाट सम्मानित भए। जमैकाका एथ्लेटिक्स खेलाडी उसेन बोल्टले योसमेत चौथो पटक उक्त अवार्डमाथि बाजी मारेका हुन्। एथ्लेटिक्समा कीर्तिमानको ओइरो नै लगाइसकेका बोल्टले सन् २०१६ मा ब्राजिलको रियो डे जेनेरियोमा सम्पन्न ग्रिष्मकालीन ओलम्पिकमा ३ वटा स्वर्ण पदक आफ्नो नाम लेखाएका थिए। उनले १ सय मिटर, २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए। योसँगै उनले आफ्नो ओलम्पिक स्वर्ण पदक संख्या ८ पुर्याएर अमेरिकी कीर्तिमानी खेलाडी कार्ल लेविसको कीर्तिमानसँग बराबरी गरेका छन्। उनले यसअघि सन् २००९, २०१० र २०१३ गरी तीन पटक यो अवार्ड जितेका थिए।

नोभाक जोकोभिच, (टेनिस)
सन २०१६ को लाउरेस वल्र्ड स्पोर्ट्सम्यान घोषित भएपछि नोभाक जोकोभिचले उक्त अवार्डमाथि ह्याट्रिक गर्न सफल भएका थिए। यसअघि उनले सन् २०१५ मा पनि उक्त अवार्ड हात पारेका थिए। सन् २०१४ मा दोस्रोपटक विम्बलडन जितेका उनले सोही वर्ष चार मास्टर्स प्रतियोगिता जितेर पुनः वरियताको शीर्ष स्थान ओगटेका थिए। जसलाई निरन्तरता दिँदै उनले २०१६ मा पनि तीन वटा प्रमुख टुर्नामेन्ट, ६ वटा मास्टर्स प्रतियोगितासहित कुल ११ वटा उपाधि हात पारेर लगालग २ वर्ष लाउरेस अवार्डको हकदार बनेका थिए। यसअघि उनले सन् २०१२ मा पहिलोपटक उक्त अवार्ड जितेका थिए।

रोजर फेडेरर, (टेनिस)
सन् २००५ देखि २००८ सम्म लगातार चार पटक लाउरेस वल्र्ड स्पोर्ट्स म्यान अफ दि इयर उपाधि जितेर टेनिसका रोजर फेडेररले सनसनी मच्चाएका थिए। स्विजरल्यान्डका टेनिस स्टारले उक्त चार वर्षभित्र समान तीन–तीन पटक विम्बलडन र यूएस ओपन तथा दुई पटक अस्ट्रेलियन ओपन जितेका थिए। यस्तै सन् २००८ मा सम्पन्न बेइजिङ ओलम्पिकमा पनि उनले स्वर्ण पदक हात पारेका थिए।

सेरेना विलियम्स, (टेनिस)
अमेरिकी टेनिस क्विन सेरेना विलियम्स लाउरेस वल्र्ड स्पोर्ट्स अवार्ड तीन पटक जित्ने एकमात्र महिला खेलाडी हुन्। उनले सन् २००३, २०१० र २०१६ मा गरी तीन पटक उक्त अवार्ड जितेकी थिइन्। सन् २००३ मा पहिलोपटक उक्त अवार्ड हात पार्दा उनले फ्रेन्च ओपन, विम्बलडन र यूएस ओपन गरी तीन वटा ग्रान्डस्लाम एकैवर्ष जितेकी थिइन्। यस्तै २०१० मा दोस्रो पटक उक्त अवार्ड प्राप्त गर्दा दुई वटा ग्रान्डस्लाम जितेकी उनले सन् २०१६ मा लाउरेस अवार्डमाथि ह्याट्रिक गर्दा तीन ग्रान्डस्लाम जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्