ईपीजी टोली तराईतिर



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का पछिल्ला गतिविधि सुस्ताइरहेका बेला नेपालतर्फको टोलीले तराईका सीमावर्ती क्षेत्रबाट स्थानीय बासिन्दाको रायसुझाव समेट्ने भएको छ।

विराटनगर, लहान, वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका स्थानबाट समूहले स्थानीय बासिन्दा, सम्बन्धित जिल्लाका सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतबाट समूहले राय⁄सुझाव लिने तयारी गरेको हो। कुन जिल्ला र क्षेत्रमा छलफल कार्यक्रम गर्ने भन्ने अन्तिम टुंगो नलागे पनि यस्तो कार्यक्रम गर्ने निधो भएको समूहका सदस्य नीलाम्बर आचार्यले बताउनुभयो।

‘नेपाल–भारत सम्बन्धका विविध विषयमा स्थानीय बासिन्दाको बुझाइसमेत महत्त्वपूर्ण रहने भएकाले स्थानीय बासिन्दाको राय, सुझाव लिने तयारी गरिएको हो, पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रमा यस्तो कार्यक्रमको तयारी गरिएको हो’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

आचार्यले प्रस्ट्याउँदै भन्नुभयो– ‘द्विपक्षीय सन्धि, सम्झौता र सहमतिबारे जानकार व्यक्तिहरू काठमाडौंमा मात्र होइन, बाहिर पनि हुनुहुन्छ, उहाँहरूको सुझावसमेत हाम्रा लागि महत्त्वपूर्ण हुन्छ।’ समूह गठन भएको १ वर्षको अवधिमा यसअघि समूहले काठमाडौं बाहिरबाट स्थलगत रूपमा सुझाव लिएको थिएन।

नेपाल–भारत दुवैतर्फको पहिलो संयुक्त पहिलो बैठक बसेको मितिले समूहको कार्यअवधि २ वर्ष रहने बताइएको छ। समूहको पहिलो बैठक गत असार तेस्रो साता काठमाडौंमा र दोस्रो बैठक असोज तेस्रो साता दिल्लीमा आयोजना भएको थियो।

गत पुस ७ र ८ गते पोखरामा हुने निधो भएको ईपीजीको तेस्रो बैठक भारतीय पक्षको अनुरोधमा स्थगित भएपछि दुवैतर्फका गतिविधि सुस्ताएका छन्। बैठकको नयाँ मिति अझै तय हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्