शिक्षण पेसासँगै बाख्रापालन



महोत्तरी, ५ फागुन । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४ का ३६ वर्षीय विनोदकुमार यादव पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादव गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फाराम सञ्चालन गर्नुभएको छ । स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बाख्रापालन फाराम सञ्चालनमा ल्याएका हुन् । रु तीन लाखमा २५ वटा उन्नत जातका बाख्रा खरिद गरी फाराम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

दुई वर्षको अवधिमा ३० वटा खसी बिक्री गरी रु तीन लाख आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । हाल उहाँको फाराममा ८० वटा खसीबाख्रा रहेका छन् । उहाँले गौशालास्थित नेपाल बैंक लिमिटेडबाट रु सात लाख ऋण कृषि कर्जामार्फत लिनुभएको छ ।

विश्व खाद्य दिवसका अवसरमा मुलुकभरमै तेस्रो स्थान हासिल गरेर कृषिमन्त्रीबाट पुरस्कार ग्रहण गर्नुभएको थियो । “व्यावसायिक रुपमा पेसामा जुटेको दुई वर्षमै सफलता पाइयो,” उहाँले भन्नुभयो । सरकारले निब्र्याजी रुपमा ऋण, तालिमको व्यवस्था एवम् बजारीकरणको व्यवस्था गर्नुपर्ने यादवको माग छ ।

जिल्लामा बाख्रापालनका लागि अवसरसँगै चुनौती छन् । जिल्ला पशु सेवा कार्यालय किसानका लागि जनचेतनामूलक कार्यक्रम तथा शिविर सञ्चालन गर्दै आएको वरिष्ठ पशु चिकित्सक श्यामनारायण झाले जानकारी दिनुभयो ।

कार्यालयले विभिन्न किसिमको खोप, बिमाको व्यवस्था, सहज बजारीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । महोत्तरीमा व्यावसायिक रुपमै सञ्चालित ११० वटा पशुपालन फाराममध्ये दर्ता गरी सञ्चालनमा ल्याएको बाख्रापालन गर्ने फारामको सङ्ख्या १९ वटा रहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्