विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग



जाजरकोट, ५ फागुन । जाजरकोट सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग गरिएको छ । यहाँको जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको हो ।

सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको बेला यहाँ बुधबार बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । यहाँको सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन पुगेपछि विद्युत् महसुल बुझाउन बाहिर जानुपर्ने समस्यालाई मध्यनजर गर्दै बैठकले जाजरकोटमा शाखा विस्तार गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको छ ।

वैठकले सदरमुकाममा अहिले सञ्चालनमा रहेको साङट रिसाङ लघुजलविद्युत् आयोजनालाई केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया पु¥याउनसमेत अनुरोध गरेको छ । जम्मा ९९ किलोवाट क्षमताको यो लघु जलविद्युत्ले यहाँको सदरमुकामलगायत आसपासका ठाउँमा समेत सेवा प्रवाह गर्दै आएको छ ।

केन्द्रीय लाइन विस्तारसँगै यो लघुविद्युत्लाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले यहाँ उत्पादित विद्युत्लाई यहाँका ग्रामीण क्षेत्रमा विस्तार गर्ने अथवा केन्द्रीय लाइनमा जोड्ने भन्नेमा अन्यौल चलिरहेको बेला दलीय बैठकले केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया बढाउन नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखी अनुरोध गरेको हो ।

सबै कर्मचारीलाई स्थायी गराइएको छ । कर्मचारीसमेत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । रुकुमको चौरजहारीमा समेत विद्युत्को महसुल तिर्न सदरमुकाम मुसीकोटमा जाने अवस्थालाई अन्त्य गरी जाजरकोट सदरमुकाममा भएमा नजिकैबाट सेवा प्रवाह गर्न सजिलो हुने देखिन्छ ।

जाजरकोटको कुदु र रुकुमको चौरजहारीमा अहिले केन्द्रीय विद्युत् पुगिसकेको छ । जाजरकोट सदरमुकाममा केन्द्रीय लाइन विद्युत् विस्तारका लागि लाइन तान्ने काम भइरहेको छ । ३३ केभी प्रसारण लाइनमार्फत जाजरकोट सदरमुकाममा विद्युत् आउने यस प्रसारण आयोजनाका प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो ।

भेरीमालिका नगरपालिकाको कुदुमा केन्द्रीय विद्युत्का लागि सबस्टेसन निर्माण कार्य जारी रहेको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले कामलाई तीव्रता दिइएको छ । यहाँको सदरमुकामलगायत आसपासका क्षेत्रमा समेत छिटो ग्रामीण विद्युतीकरणमार्फत लाइन विस्तार गरी सेवा दिन स्थानीयवासीले मागसमेत गरेका छन् ।

प्रशासनले ताला फोडेर कार्य सञ्चालन

यसैबीच, यहाँको स्थानीय प्रशासनले सेवाग्राहीको काममा बाधा पुगेको भन्दै जिल्ला विकास र भेरीमालिका नगरपालिकामा लगाएको ताला फोडेपछि बुधबारदेखि स्थानीयवासीको काम हुन थालेको छ । बुधबार दिनभरि स्थानीय निकायका कर्मचारीले प्रशासनले ताला फोडेको भन्दै चर्को विरोधसमेत गरेका छन् ।

पत्रकारसम्मेलन गर्दै आफ्नो मागप्रति स्थानीय प्रशासन उदासीन भएको आन्दोलनमा उत्रिएका कर्मचारीले आरोप लगाएका छन् । आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीले आफ्नो ऊर्जाशील समयभरि राज्यले लुटेको भन्दै आक्रोश व्यक्त गरे । २०औँ वर्षसम्म काम गर्दा पनि कामको मूल्याङ्कन नभएको भन्दै राज्य बर्बर भएको आरोपसमेत लगाए । रासस

प्रतिक्रिया दिनुहोस्