स्कुले बालबालिकालाई पढाइभन्दा गिटी प्यारो



दीपेन्द्र शर्मा, जाजरकोट
भेरीमालिका नगरपालिका–४ मूलपानी बस्ने सुनिता नेपाली इउरी स्थानीय रामजानकी प्राथमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन् तर उनी कहिलेकाहीं मात्र विद्यालयमा जान्छिन्। ११ वर्षीया सुनिता प्रायःजसो विद्यालय समयमा मूलपानीको स्थानीय खोलामा गिटी कुट्न व्यस्त हुन्छिन्।

घरको आर्थिक अवस्था निकै कमजोर भएपछि गिटी कुटेर भए पनि पढाइको गुजारा चलाउँदै आएकी छन्। घरमा आमाले पनि गिटी कुट्ने काम गर्ने हुँदा आमाको सिको गर्दै उनी पनि गाउँको स्थानीय मूलपानी खोलामा दिनभर गिटी कुट्न व्यस्त हुन्छन्। ४ कक्षामा पढ्ने उनी बिहानै उठेर खोलामा साँझपख पनि खोलामा गिटी कुटेर कापीकलम तथा पढाइको जोहो गर्छिन्। सुनिता विद्यालय नगए पनि, नपढे पनि उदार कक्षान्नोति नीतिका कारण उनी अहिलेसम्म फेल भएकी छैनन। सुनिताले दलित छात्रवृत्ति पनि नियमित पाइरहेकै छिन्।

सुनिता मात्र होइन सोही ठाउँमा बस्दै आएका १२ वर्षका सुमन विकको दिनचर्या पनि प्रायः गिटी कुटेर बित्ने गरेको छ। ७ कक्षामा पढ्दै गरेका सुमनका बुबा नेत्रबहादुर विकको दुई वर्ष अगाडि वैदेशिक रोजगारीमा गएको बेला मलेसियामा मृत्यु भयो। घरमा कमाउने कोही नहुँदा चरम आर्थिक समस्या हुँदा बुबाको मृत्युपछि आमा पनि कमाइ गरेर छोराहरूलाई पालनपोषण तथा शिक्षादीक्षाका लागि एक वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसियामा गइन्। बुबाको मृत्यु तथा आमा पनि घरमा नहुँदा गाउँका साथीहरूसँगै गिटी कुटेर पढाइको गुजारा गरिरहेका छन्। सुमन गाउँघरका साथीहरूसँगै खोला तथा बाटोमा गिटी कुट्दै दिन बिताउँछन्। यो कामले गर्दा सुमनलाई नियमित स्कुल जान मुस्किल हुन्छ। सुनिता र सुमन मात्र होइन मूलपानी गाउँमा बसोबास गर्ने धेरैजसो बालबालिकाको चलन उस्तै छ। ‘अभिभावकले भर्ना गरिदिन्छन्, कापीकलम र डे«सको जोहो पनि गरिदिन्छन् तर वालबालिका नियमित विद्यालय जाँदैनन् –स्थानीय धर्मबहादुर शाहीले भने। घरमा पढे लेखेका कोही नभएका कारण बालबालिकाले नियमित विद्यालय जानुभन्दा खोलामा गिटी कुट्ने गरेको शाहीले बताए। मूलपानी गाउँनजिकै जाजरकोटको सदरमुकाम खलंगा बजार छ। उनीहरूले कुटेका गिटी बजारमा घर बनाउनेहरूले नियमित किनेर लिने गर्दछन्। त्यसैले उनीहरू पढाइभन्दा प्यारो गिटी कुटाइ मान्छन् र बेच्नेबित्तिकै पैसा पाउँछन्।

‘विद्यालयमा पठाएर के गर्नु यिनीहरूको मनभरि गिटी कुट्नैमा हुन्छ, घर आयो कि खोलामा गइहाल्छन्, घरमा किताब पढ्नै मान्दैनन् –स्थानीय अभिभावक विष्णुकुमारी विकले भनिन्। ‘पढ्नुभन्दा गिटी कुटेर पैसा कमाउने रहर मान्छन् केटाकेटीले –उनले भनिन्। ‘बालबालिकाहरूले पढून् लेखून् भनेर नियमित विद्यालयमा पढ्न पठाए पनि उनीहरूको मन अन्तै हुन्छ –विकले भनिन्।

गरिबीका कारण अति विपन्न समुदायका बालबालिकाहरू विद्यालय बाहिर नहुन् र उनीहरूले बिदामा पनि घरमा बसेर पढ्ने बानीको विकास होस् भनेर विद्यालयले नियमित घरदैलो कार्यक्रम गरिरहेको स्थानीय विद्यालय रामजानकी प्राविका प्रधानाध्यापक अच्युतप्रसाद शर्माले बताए। घरमा अभिभावकको लापरबाहीले बालबालिका पढाइभन्दा बाहिर अन्य काममा लाग्ने गरेको जिल्ला शिक्षा कार्यालय जाजरकोटका विद्यालय निरीक्षक मानबहादुर गिरीले बताए। पढाइभन्दा बढी गिटी कुट्नेमा रहेका विद्यार्थीहरूलाई छिट्टै पढाइमा सक्रिय बनाउन कार्यालयले विशेष कार्यक्रम चलाउने गिरीले बताए। पढाइभन्दा अन्यत्र लागेका बालबालिकालाई विद्यालयको पढाइप्रति जागरुक बनाउन जनचेतनाको विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने निरीक्षक गिरी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्