आन्दोलनले सेवाग्राही मर्कामा



आन्दोलनमा रहेका नेपालगन्ज उपमहानगरपालिका कर्मचारी ।

नेपाल समाचारपत्र
बाँके
नीय निकायका कर्मचारीको आन्दोलनले गर्दा सेवाग्राही मर्कामा परेका छन्।
कर्मचारीसम्बद्ध पाँचवटा संघसंगठनले थालेको देशव्यापी आन्दोलनका कारण स्थानीय निकायको कामकाज ठप्प भएको हो। माघ २३ गतेदेखि शुरू भएको आन्दोलन फागुन १ गतेदेखि कडा भएपछि कामकाज रोकिएको छ। स्थानीय निकाय ट्रेड युनियन संघर्ष समितिले स्थानीय निकायको चुनाव हुनुपर्ने, जनशक्ति व्यवस्थापनलगायतका ६ सूत्रीय माग राखेको छ।

बाँकेको जिल्ला विकास समिति, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र गाविस कार्यालयमा कर्मचारीहरूले कामकाज रोकेर आन्दोलन गरेका छन्। सेवा लिन कार्यालय पुग्ने गरेका सेवाग्राही कर्मचारीको आन्दोलनका कारण निराश भएर फर्केका छन्।

नेपाल नगरपालिका कर्मचारी एसोसियसन नेपालगन्ज उपमहानगरपालिका, नेपाल नगरपालिका एसोसियसन, गाविस कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी संघ जिविस एकाइ समिति बाँके र स्थानीय निकाय कर्मचारी संघ जिल्ला कार्यसमिति बाँकेको संयुक्त अगुवाइमा विभिन्न माग राखी आन्दोलन चर्काइएको छ। स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत, जिल्ला इन्जिनियरलगायतलाई कार्यालय प्रवेशसमेत निषेध गरिएको छ। मागसहितको कालो ब्यानर मूल गेटमा टाँगेर कर्मचारीले नाचगान गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्। आफ्ना मागहरू पूरा नहोउन्जेलसम्म आन्दोलन जारी रहने नेपाल नगरपालिका कर्मचारी एशोसियसन नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष अच्युतराज आचार्यले जानकारी दिनुभयो।

आन्दोलनका कारण जिविसको योजना सम्झौता, परिषद्का लागि विषयगत समितिको बैठकहरू रोकिएका छन्। ३, ४ र ५ गते आह्वान गरिएको विषयगत बैठक स्थगित भएको छ। यसैबीच, सरकारले सहसचिवको नेतृत्वमा वार्ता टोली बनाएर आन्दोलनरत पक्षलाई वार्ताका लागि बोलाएको छ। आन्दोलनकारीले पनि पाँच सदस्यीय वार्ता टोली बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्