पूर्वराजा सिमरा र कसरातिर



ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह केही हप्ताका लागि सिमरा जाने हुनुभएको छ। पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उहाँ सिमरा हुँदै चितवन जान लाग्नुभएको हो।

पर्सि फागुन ५ गते बिहान पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल हवाई मार्ग हँुदै सिमरा जाने कार्यक्रम तय भएको छ। उहाँले चितवन जाँदा सडक मार्ग प्रयोग गर्नुहुने भएको छ।

निर्मल निवास स्रोतका अनुसार फागुन ६ गते पूर्वयुवराज्ञी हिमानी, छोरा हृदयेन्द्र छोरीहरू पूर्णिका र कीर्तिका, धिरेन्द्रका तीन छोरी, अन्य आफन्तसहित करिब दुई दर्जन पूर्वराजपरिवारका सदस्य चितवन जाने कार्यक्रम तय भएको छ।

आमाको जन्मोत्सव मनाउन पूर्वयुवराज पारस चितवन जाने वा नजाने भन्ने विषयमा कुनै निर्णय भएको छैन। सुनाकोठीमा एक्लै बस्दै आउनुभएका पारस आमाको जन्मोत्सव मनाउन चितवन जानसक्ने कार्यक्रम रहेको उहाँ निकट स्रोतले दाबी गरेको छ।

अधिकांश पारिवारिक जमघटमा पारस सहभागी हुने गर्नुभएको छैन। प्रजातन्त्र दिवसको दिन फागुन ७ गते कोमलको जन्मोत्सव मनाएपछि ज्ञानेन्द्र र कोमल पुनः सिमरा फर्कने कार्यक्रम रहेको छ भने परिवारका अन्य सदस्य काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

जन्मोत्सव मनाउन निर्मल निवासबाट पूर्वराजाका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा. फणिराज पाठक, केही निजी कर्मचारीसमेत चितवन जाने कार्यक्रम रहेको छ। ज्ञानेन्द्र र कोमल केही दिन सिमरामै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

‘सिमरास्थित आफ्ना अति निकटका साथी प्रभु शमशेरको दरबारमा बस्ने कार्यक्रम रहेको छ। अहिलेसम्म कति दिन सिमरा बस्ने भन्ने विषयमा जानकारी नभए पनि करिब दुई साता त्यतै बस्ने कार्यक्रम रहेको छ।’ –स्रोतले भन्यो।
सिमरा बसाइका क्रममा उहाँले आफू निकटका केहीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सिमराबाट अन्य जिल्ला भ्रमणमा जाने वा नजाने बारे अहिलेसम्म कुनै निर्णय भएको छैन, सायद केही जिल्ला भ्रमणमा जानसक्ने कार्यक्रम रहेको छ –स्रोतले भन्यो।

मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्दै जानु अर्थपूर्णरूपमा हेरिएको छ। कहिले चीन त कहिले बुहारी हिमानीको साथमा थाइल्यान्ण्ड भ्रमणमा गरिहनुभएका पूर्वराजा अहिले फेरि नेपालका केही जिल्लाको भ्रमण कार्यक्रमा सरिक हुन थाल्नुभएको छ।

पछिल्लो समय राजावादीले पूर्वराजाको भूमिकाको बारेमा बहस शुरू गरिरहेका छन्। तीन तहको निर्वाचन नभए संविधान नै संकटमा पर्न सक्ने आकलन गर्दै राजावादीले राजाको सक्रियताको माग गरेको अवस्थामा पूर्वराजाको जिल्ला दौडाहालाई महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्