सिमराबाट हराएका बालिका सीतामढीमा भेटिए



कृष्णउदास खनाल, वीरगन्ज
राको सिमरामा रहेको सिमरा पब्लिक इङ्लिस स्कुलमा पढ्ने चार जना छात्रा भारतको सीतामढीमा भेटिएका छन्।

स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएका उनीहरूको रातभर खोजी गर्दा भारतको सीतामढी पुगेको पत्ता लागेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिनुभयो। भारतको सीतामढीको चाइल्ड केयरमा रहेको र भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइने कार्कीले जानकारी दिनुभयो। बालिकाहरू सिमराबाट माइक्रो चढेर वीरगन्ज, वीरगन्जबाट रिक्सा चढेर रक्सौल पुगेका थिए। त्यहाँबाट ट्रेन चढेर भारतको सीतामढी पुगेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ।

आइतबार दिउँसो स्कुल छुट्टी भएपछि घर फर्किनुपर्ने बालिका रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। गढीमाई नगरपालिका–७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीया जिया गुप्ता, उनकै बहिनी यूकेजीमा पढ्ने पाँच वर्षीया पिहुँ गुप्ता, गढीमाई नगरपालिका–१ सिमराकी कक्षा पाँचमा पढ्ने १२ वर्षीया रविना श्रेष्ठ र गढीमाई नगरपालिका–२ नरबस्ती घर भएकी कक्षा पाँचमै पढ्ने ११ वर्षीया स्नेहा सिंह सामूहिक रूपमा बेपत्ता भएका थिए।
जियाका बुबा शम्भुप्रसाद गुप्ताले सधैं स्कुलबाट पाँच नबज्दै घर आइपुग्ने छोरी रातिसम्म नआएपछि प्रहरीलाई खबर गरेको बताउनुभयो। बालिकाहरू वीरगन्जको नाका भएर रिक्सा चढेर भारततर्फ गएको तस्वीर सीसी क्यामरामा कैद भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई कसले कुन उद्देश्यले किन भारत लगेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्