उत्तरी कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण आबेलाई पूर्ण सहयोग दिने ट्रम्पको आश्वासन



सोल, (एजेन्सी)
उत्तर कोरियाले आइतबार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले जनाएको छ।

अमेरिका भ्रमणमा रहेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा जापानलाई पूर्ण सहयोग कायम रहने आश्वस्त पारेलगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो। उत्तर कोरियाको उक्त क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षण हो।

स्थानीय समयानुसार आइतबार बिहान उक्त क्षेप्यास्त्र उत्तरी प्योङयाङबाट पश्चिम पर्ने प्रान्तस्थित बाङयोन सैनिक हवाई अखडाबाट सुदूरपूर्व जापानी समुद्र (सी अफ जापान) तर्फ प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ।

वायुमण्डलमा पाँच सय किलोमिटरजति उडेर समुद्रमा झरेको उक्त क्षेप्यास्त्र के कति क्षमताको र कुन श्रेणी थियो भन्ने विषयमा तत्कालै खुल्न सकेको छैन।
अहिलेसम्म उत्तर कोरियाले अन्तर–महाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छैन तर आइतबार परीक्षण गरेको क्षेप्यास्त्र आईसीबीएम हुन सक्ने अनुमान गरिएको छ। जापान तथा अमेरिका दुवैले आ–आफ्नै प्रकारबाट आलोचना गरेका छन्।

यसबीच राष्ट्रपति ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई अमेरिकाको समर्थन रहने आश्वासन दिए। उनले भने– ‘अमेरिका आफ्नो अहं सहयोगी जापानसँग पूर्ण रूपमा साथमा उभिनेछ।’

जापानी प्रधानमन्त्रीले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई लिएर उक्त कार्य कुनै पनि स्थितिमा स्वीकार्य नभएको बताए। जापानी अधिकारीहरूले उक्त क्षेप्यास्त्रले उसको जलसीमा अतिक्रमण नभएको बताए।
विगतका वर्षमा प्योङयोङले कैयौंपटक परमाणु परीक्षण गरेका थिए। उत्तर कोरियाले लगातार क्षेप्यास्त्र र परमाणु परीक्षण गरिरहेको छ। अमेरिकी सुरक्षा अधिकारीहरूले वासिंगटन उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको पुष्टि त्यस विषयमा सम्पूर्ण जानकारी हासिल भएपछि गर्ने रोयटर्सलाई बताए। दक्षिण कोरियाली सरकारले राष्ट्रिय सुरक्षालाई लिएर बैठक बोलाएको छ। उक्त बैठकमा उत्तर कोरियाका उक्त क्षेप्यास्त्र परीक्षणका विषयमा छलफल हुने जनाइएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले जनवरीमा उनको देश लामो दूरीको क्षेप्यास्त्र विकासको नजिक पुगेको बताएका थिए। क्षेप्यास्त्र परमाणु हतियार बोक्न सक्षम हुने उनले बताएका थिए। गत हप्ता अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले दक्षिण कोरियाको भ्रमणका क्रममा यदि उत्तर कोरियाले परमाणु हमलाको दुस्साहस गरेमा उसले त्यसको उपयुक्त जवाफ पाउने चेतावनी दिएका थिए। उनले दक्षिण कोरियामा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्ने पनि पुष्टि गरेका थिए। उत्तर कोरियाले गत वर्ष पाँचौं परमाणु परीक्षण गरेका थिए। उसले यसअघि आफू अमेरिकामाथि परमाणु हमला गर्न सक्षम भएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्