सर्भेअनुसार तटबन्ध बनाउन माग



नेपाल समाचारपत्र
राजविराज
२०२८ सालको सर्भेअनुसार बनाइनुपर्ने खाँडो नदीको तटबन्धलाई निजी जग्गातर्फबाट निर्माण शुरू गरिएको भन्दै सप्तरीको तिलाठीबासीले आपत्ति जनाएका छन्। कुनै बेला पनि आफूहरूको उठीबास हुन सक्ने भन्दै उनीहरूले चिन्तासमेत जाहेर गरे।
गाउँमै पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले साविककै सर्भेअनुसार तटबन्ध निर्माण हुनुपर्ने माग गरे। २०२८ सालमा भएको सर्भेअनुसार खाँडो नदीको बहाव सकरपुरा गाविसको वडा नम्बर ७ र ८ हुँदै तिलाठी–९ भएर भारततर्फ गएको उल्लेख छ। तर, अहिले पश्चिमतिरको आफूहरूको जग्गा भएको तर्फबाट बाँध बनाउने काम तयारी भएको खाँडो संघर्ष समितिका संयोजक रामलखन यादवले बताए।

उनले भने– ‘नम्बरी जग्गाबाट बाँध बनाउनु थियो भने पहिले हामीसित सहमति लिनुपथ्र्यो, तर न सहमति लिए न त मुआब्जा नै दिएका छन्।’ यादवले बाँध निर्माण गर्नुभन्दा अगाडि जग्गा अधिग्रहणसमेत नगरिएको बताए। तटबन्ध बाढीबाट जोगिनका लागि आफूहरूलाई पनि आवश्यक रहेको तर पुरानै बहावअनुसार बनाइनुपर्ने अन्यथा ५० घरभन्दा बढी परिवार भूमिहीन हुने निश्चित रहेको तिलाठी–४ का वुदुर यादवले बताए। ‘भारतको दिल्ली–पन्जावमा मजदुरी गरेर १० कठ्ठा धान खेत जोडेको थिएँ’, उनले भने– ‘अहिलेको योजनाअनुसार बाँध बने त्यो सबै जग्गा खोलामा जान्छ र म सुकुम्बासी बन्नुपर्नेछ।’

यस्तै भनाइ स्थानीय ललितकुमार झाको समेत रहेको छ। पूर्वतर्फको सकरपुरामा खाँडो नदीको बहावलाई दृष्टिगत गरी बनाइएको पक्की पुलतर्फबाट बाँध नलगेर आफूहरूलाई बिचल्लीमा पार्ने काम भइरहेको र यसबारे सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा फैसलै नभईकन बाँध निर्माण कार्य जारी रहेको उनको आरोप छ।

संघर्ष समितिका संयोजक यादवले मुद्दा परेपछि बाँध बनाउने काम कारबाही यथावत्मा राख्नु भनी विपक्षीहरूको नाममा अदालतले आदेश जारी गरेको समेत जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्