क्यामरुनलाई अफ्रिका कप उपाधि



लन्डन, (एजेन्सी)
यस संस्करणको अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधि क्यामरुनले जितेको छ।

प्रतियोगिताअन्तर्गत आइतबार राति गाबोनमा भएको फाइनलमा इजिप्टलाई २–१ गोलअन्तरले हराउँदै क्यामरुनले पाँचौंपटक अफ्रिका कपको उपाधि हात पारेको हो। खेलमा शुरुआती अग्रता भने इजिप्टले लिएको थियो। खेलको २२औं मिनेटमा एल्नेनीले कठिन कोणबाट गोल गरेपछि पहिलो हाफसम्म इजिप्ट १–० ले अघि रह्यो।

तर दोस्रो हाफमा क्यामरुनले सुखद पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो। खेलको ५९औं मिनेटमा क्यामरुनका एन्कुलुले हेडमार्फत बराबरी गोल फर्कायो। उक्त गोलपछि दुवै टोलीले १–१ स्थितिलाई तोड्न भरमग्दुर प्रयास गरे पनि सफलता भने क्यामरुनको हात लाग्यो।

निर्धारित ९० मिनेट सकिन दुई मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी भिन्सेन्ट अबुबकारले बललाई फ्लिक गर्दै गोल गरेपछि क्यामरुनको पोल्टामा उपाधि सुनिश्चित बन्यो। उनी खेलको ४५औं मिनेटमा रोबर्ट टेम्बेको स्थानमा मैदान प्रवेश गरेका थिए।

पाँचौंपटक अफ्रिका कप च्याम्पियन बने पनि पछिल्लो १५ वर्षयता क्यामरुनको यो पहिलो उपाधि हो। क्यामरुनले उपाधि जित्ने क्रममा अफ्रिका कपको सर्वाधिक विजेता राष्ट्र इजिप्टको आठौंपटक उपाधि जित्ने सपनामाथि तुषारापात भएको छ।

प्रतिक्रिया दिनुहोस्