माथिल्लो खोरंगाखोलालाई वित्तीय स्रोत जुट्यो



नेपाल समाचारपत्र
काठमाडौं
माथिल्लो खोरंगाखोला साना जलविद्युत् आयोजना निर्माणका निम्ति वित्तीय स्रोत जुटेको छ। तेह्रथुम पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धन गरिएको साढे सात मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा माछापुच्छ«ेको बैंकको नेतृत्वमा, नेपाल बंगलादेश बैंक र जनता बैंकले ऋण लगानी गर्ने भएका छन्।

आयोजनामा ऋण लगानी गर्ने सम्बन्धमा प्रवद्र्धक कम्पनी र बैंकहरूबीच सोमबार ऋण सम्झौता भएको छ। कुल एक अर्ब ३७ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकहरूको स्वपुँजी २७ प्रतिशत अर्थात ३७ करोड रुपियाँ लगानी हुनेछ भने माछापुच्छ«े बैंकले ४० करोड, नेपाल बंगलादेश बैंक र जनता बैंकले ३०/३० करोड रुपियाँ ऋण लगानी गर्ने छन्। कम्पनीलाई लिमिटेडमा परिणत गर्दै २० प्रतिशत स्थानीयबासीलाई शेयर जारी गर्ने लक्ष्य रहेको प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। कम्पनीका संस्थापक शेयर होल्डरहरू पनि तेह्रथुमबासी नै रहेको डाँगीले बताउनुभयो।

उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत् कम्पनीले निर्माण गर्ने ४ दशमलव ७ किलोमिटर लामो ३३ केभी प्रसारणलाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरखिम्ती सबस्टेसनमा जोडिने छ। आयोजनाबाट २०७६ पुस १ गतेदेखि विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनमा कम्पनीको ऊर्जा मन्त्रालयले लाइसेन्स खारेज गरेको भए पनि गत भदौमा मन्त्रिपरिषद्बाट पुनः विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गर्दै कात्तिकमा विद्युत प्रँधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो।

प्रतिक्रिया दिनुहोस्