निगमले नयाँ खरिद गर्दै पुराना बोइङ लिलाम गर्ने



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एयरलाइन्सले दुईवटा नयाँ वाइडबडी ए ३२०–२०० जहाज खरिद गर्ने भएको छ। अमेरिकी कम्पनी एएआरसँग निगमले दुईवटा वाइडबडी एयरबस किन्ने अन्तिम तयारी गरेको छ। कम्पनीसँगो विमान खरिद गर्ने समझदारी अनुसार मार्चभित्रै खरिद समझौता हुने नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो।

सोमबार निगमद्वारा आयोजित पत्रकार सम्मेलनमा कंसाकारले नयाँ वाइडबडी खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभयो। नयाँ जहाज खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पाेरेसनलाई १० करोड रुपियाँ बैना दिइने तयारी भएको छ। २८० सिट क्षमताको उक्त विमान १६ वटा विजनेस क्लासका सिट हुनेछ। यस जहाजबाट निगमले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने जनाएको छ।

निगमले दुवै जहाज २०७४ भित्रै ल्याउने तयारी गरेको छ। तर, जहाज कहिले आइपुग्छ भन्ने मिति भने सम्झौताका समयमै तय हुने निगमको भनाइ छ। जहाज खरिदका लागि निगमले अर्थ मन्त्रालयको जमानीमा कर्मचारी सञ्चय कोषसँग २५ अर्ब रुपियाँ ऋण सम्झौता गरिसकेको छ। त्यस बाहेक अपुग रकम विभिन्न वित्तीय संस्थास“ग ऋण लिने तयारी निगमको छ।

नयाँ जहाज १ सय ४ मिलियन डलरमा खरिद गर्न लागिएको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो। यो जहाज एयरबासको अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार आधा सस्तोमा खरिद गर्न लागिको कंसाकारको दाबी छ। कंसाकारले भन्नुभयो–‘अनुमानभन्दा निकै सस्तोमा नयाँ जहाज पाएका छौं। एभियसन मार्केटमा कहिलेकाहीं यस्तो हुन्छ।’ निगमले एयसबसको खरिद गर्न २२५ मिलियन अमेरिकी डलर छुट्याएको थियो।

दुईवटा वाइडबडी विमान खरिदका लागि निगमले असोज पहिलो साता बोलपत्र आह्वान गरेको थियो। त्यसमा ११ वटा कम्पनी प्रतिस्पर्धामा आए पनि माघ १ गते एएआर करर्पोरेसन छनोट भएको थियो। निगमले दुईवटा वाइडवडी विमान ल्याएपछि अर्को बोइङ पनि बिक्री गर्ने भएको छ। हाल नउडाएर राखिएको एउटा बोइङ बिक्रीको लागि मूल्याकंनको काम भइरहेको भन्दै छिट्टै त्यसको बिक्रीको लागि टेन्डर आह्वान गर्ने तयारी गरेको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो।

निगमले ‘बी ७५७–२०० मोडलको बिमान बिक्रीको लागि त्रिभुवन विमानस्थलमा थन्काएर राखेको छ। कर्णाली नाम दिइएको यो विमानको नेपाली कलसाइन भने नाइन एनएसीए रहेको छ। त्यस्तै गण्डकी नाम गरेको बी ७५७–२०० एम विमान भने हाल संचालनमा रहेको छ। तर, व्यावसायिक रूपमा सम्भाव्य नरहेकाले यसलाई पनि वाइडबडी आउनेवित्तिकै बिक्री गर्ने तयारीमा रहेको महाप्रबन्धक कंसाकारको भनाइ छ। निगमले तीन महिनाभित्र अनलाइन प्राणालीबाट टिकट बुकिङ र भुक्तानी गर्ने भएको छ। टिकट बुकिङ र विद्युतीय भुक्तानी प्रणलीको लागि कम्पनीसँग सम्झौता भइसेकाले तीन महिनाभित्र सेवा शुरु हुने उहाँको भनाइ छ।

निगमको टिकट बुकिङको लागि सफ्टवेयर निर्माण गर्न भारतीय कम्पनी ‘बर्डस’ले जिम्मा पाएको छ भने अनलाइन भुक्तानीको लागि थाइ कम्पनीसँग सम्झौता भइसकेको उहाँले जनकारी दिनुभयो। निगमका अनुसार सन् चालू आवको ९ महिनामा जम्मा २८ हजार यात्रुलाई सेवा दिएको छ।

प्रतिक्रिया दिनुहोस्