ह्याट्रिक उपाधिको होडमा मनाङ



रमेश समदर्शी, बिर्तामोड
नेपालका दुई चर्चित गोल्डकपको उपाधि उचालिसकेको मनाङ मस्र्याङदी क्लब झापामा जारी रमपम झापा गोल्डकप जित्ने दाउमा छ। शनिबार अन्तिम सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेपछि मनाङ ह्याट्रिक उपाधि होडमा पुगेको हो।

झापा गोल्डकपको डिफेन्डिङ च्याम्पियन आर्मीलाई मनाङले १–० गोलमा रोक्यो। डोमालाल राजवंशी रङ्गशालामा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा आर्मीलाई रोकेपछि मनाङले फाइनलमा आयोजक झापा ११ सँगको भेट पक्का गरेको छ।

यसै सिजनमा मनाङले दुई गोल्डकपमा कब्जा जमाइसकेको छ। एक साताअघि पोखराको आहा रारा गोल्डकप र एक महिनाअघि सुदूरपश्चिमको खप्तड गोल्डकप विजेता मनाङ झापा गोल्डकपको उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा हुनेछ।

झापा र मनाङ यस सिजनमा पहिलोपटक भेट हुँदैछन्। गतवर्ष भने दुई पटक भेट हुँदा मनाङ झापामाथि हाबी भएको थियो। त्यस्तै, आर्मीसँग यसै सिजनमा दुई पटक फाइनल पुगेर हारेको मनाङले झापामा बदला लिएको छ। हेटौ“डाको सुमन भोम्जन स्मृति गोल्डकप र दुहबी गोल्डकपको फाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो।

झापाको तेस्रो भेटमा यी दुई टोलीबीचको खेल निकै नै प्रतिस्पर्धात्मक देखिन्थ्यो। तर, खेलको नतिजा भने कठिन परिस्थितिबाट निस्कियो। पहिलो हाफको अन्त्यतिर मनाङले गोलको खाता खोल्यो त्यो पनि रिबाउन्ड बलबाट। खेलको ४२औँ मिनेटमा विमल रानाले गरेको गोल नै निर्णयक बन्यो। विदेशी खेलाडी ओलावालेको क्रसमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर फर्किंदा विमलले गोलपोस्टको दिशा दिएका हुन्।

शनिबारको म्यान अफ दी म्याच मनाङका कप्तान सुजल श्रेष्ठ घोषित भए। उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजारसहित दुई तोला चाँदीको मेडल प्रदान गरे।

प्रतियोगिताअन्तर्गत आयोजक झापा–११ र मनाङ मस्र्याङदीबीचको फाइनल खेल सोमबार हुनेछ। प्रतियोगिताको विजेताले नगद सात लाख र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजारसहित ट्रफी पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्