अस्ट्रेलियालीको जन जिब्रोमा ‘हलाल स्न्याक प्याक’



अन्ना जोनेस , बीबीस न्युज
अस्ट्रेलियाको म्याक्वेरी डिक्सनरीले ‘हलाल स्न्याक प्याक’ सन् २०१६ मा जनताको छनोटमा परेको शब्द घोषित गरेको छ। छोटकरीमा एचएसपी भनिने स्नयाक प्याकको अर्थ अस्ट्रेलियाका सडकमा ठेलाहरूमा बेचिने कवाव मासु , आलु चिप्स ससको पोका भन्ने बुझिन्छ।

शायद यस खाद्य परिकारबारे राजनीतिक बहश हुनु अस्वाभाविक देखिन्छ। तर जनजिब्रोमा निकै स्वादिलो परिकार बन्न सफल यो अधिकांशलाई अस्ट्रेलियाको शान्तिपूर्ण बहुसाँस्कृतिक प्रतिक बन्न सफल भएको छ।

तर केहीलाई मुश्लिमले खाने मासु अर्थात हलालको प्रयोग मुश्लिम प्रभाव बढ्दै गएको उदाहरणका कारण अपाच्य रहेको छ। तर यस वर्ष इस्लाम विरोधी दक्षिणपन्थी राजनीतिज्ञ तथा वन नेसन पार्टीका सदस्य पाउलिन ह्यान्सनले सो परिकार खान गरिएको आमन्त्रण अस्वीकार गरेको कारण नजाँनिदो तवरले यसको राजनीतिकरण भएको छ।

गत जुलाइमा सिनेटको चुनाव जितेकी उनलाई लेवर सिनेटर साम डास्ट्यारीले हलाल स्नयाक प्याक ख्वाउन प्रस्ताव राख्दा उनले ‘त्यसो भए तपाईं अस्ट्रेलियालाई इस्लामिकीकरण गर्न आर्थिक योगदान दिंदै हुनुहुन्छ।’ भन्ने जवाफ फकाएकी थिइन्। साथै उनले ९८ प्रतिशत अस्ट्रेलियाली हलालको विपक्षमा रहेको पनि बताएकी थिइन्।

यसको ठीक विपरीत हलाल कवाव प्याकको लोप्रियता बढ्दै जाने क्रममा मेलवर्नको एउटा कवाव पसलको मेनुमा पाउलिन ह्यान्सनको समेत नाम उल्लेख गर्दै त्यहाँ खसीको कवाव, वास्नादार मोही, खुर्सानीको सस, चिज, बियर र आलु चिप्स पाइने जनाइएको छ। अहिले हलाल स्न्याक प्याकले अस्ट्रेलियाली परिकारको दर्जा पाइसकेको छ। तर यसको सिर्जना भने युरोप र मध्यपूर्वबाट अस्ट्रेलिया छिरेका आप्रवासीहरूले गरेका हुन्।

यस परिकारबारे सामाजिक सञ्जाल फेसबुकमा पनि तेत्तिकै स्थान र चर्चा पाएको छ। फेसबुकमा अधिकांशले यसलाई विश्वकै उत्कृष्ट स्न्याक प्याकको संज्ञासमेत दिएका छन्। तुर्केली मुलका अस्ट्रेलियाली मुश्लिम तथा यस व्यवसायमा लागेका उफुक बोजोग्लु भन्छन्, ‘पहिला हामी १० प्लेट कवाव बराबर एउटा स्न्याक प्याक बेच्थ्यौं, तर अहिले १० वटा स्न्याक प्याकको तुलना एक प्लेट कवाव बिक्री हुने गरेको छ।

यो परिकार बनाउन मेरी आमाले सिकाउनुभएको हो। उहँँले मलाई आफूले खाने परिकार मात्र बेच्नुपर्छ भनी सिकाउनुभएको थियो। मेरा अधिकांश ग्राहक स्थानीय विद्यार्थी रहेका छन्। निकै भिड लागेका बेला त तिनीहरू चालिस मिनेटसम्म लाइनमा उभिएर पनि खाएरै जान्छन्। एकजना केटो त हरेक साता साढे दुईघन्टा लामो दुरी यात्रा गरेर आफ्नो तलतल मेटाउन आउने गरेका छन्। तर अहिलेसम्म कुनै पनि ग्राहकले हलाल मासुलाई लिएर प्रश्न गरेको छैन।

हिन्दु, मुश्लिम, इसाई वा अन्य जुनसुकै धर्मावलम्बी भए पनि आपसमा सम्मान र माया लिएर बस्दा कहिल्यै पनि विवाद हुँदैन। ‘चिजसहितको एउटा हलाल स्न्याक प्याकको मूल्य १० अस्ट्रेलियन डलर रहेको छ। करिब १८ हजार सदस्य रहेको हलाल स्न्याक प्याक समर्थन मन्च नै गठन भएको छ।

अस्ट्रेलियाली इस्लामिक परिषद्हरूको महासंघका अध्यक्ष किसार ट्राडले अन्य भाषीहरूको शब्दहरूलाई व्यवहारमा सामान्य ढंगले प्रचलनमा ल्याइनु राम्रो संकेत भएको प्रतिक्रिया दिएका छन्। अझ त्यस्ता शब्दलाई शब्दकोषमा सजिलै भेटिने गरी राखिनु निकै स्वागतयोग्य काम भएको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्