वन्यजन्तुको वासस्थान डिजिटल नक्सांकन हुँदै



टीका बन्धन, काठमाडौं
प्राकृतिक वासस्थानमा रहेका स्तनधारी जीवजन्तुको वासस्थान र त्यसमा आएको परिवर्तन तथा भविष्यमा आउन सक्ने परिवर्तन र चुनौती बारेको अध्ययन हुने भएको छ।

वन्यजन्तुको चहल–पहल अहिले कहाँसम्म फैलिएको छ र भविष्यमा कहाँसम्म फैलन सक्छ भन्ने सम्भावना औल्याउँदै वन्यजन्तुको वासस्थान तथा चरिचरण क्षेत्रको डिजिटल नक्सांकन गर्न लागिएको हो।

अध्ययनले सन् २१०० को शुरुआत चरणसम्मको पूर्वानुमान गर्ने लक्ष्य लिएको छ। अमेरिकी सहयोग नियोग (यूएसएड) को करिब २ करोड १५ लाख रुपियाँको आर्थिक सहयोगमा यस्तो अध्ययन अघि बढेको हो। सन् २०५०, २०८० र २१०० सम्मका लागि छुट्टाछुट्टै रणनीति अघि सारिने बताइएको छ।

वन्यजन्तुका प्रजातिको संख्या, प्रजाति तथा वन्यजन्तु चरिचरण र चहल–पहल गर्ने क्षेत्रको वास्तविकता पत्ता लगाउन, वन्यजन्तु–मानवबीच बढ्दो द्वन्द्व न्यूनीकरण एवम् वन्यजन्तुको वैकल्पिक वासस्थान पहिचानका लागि यस्तो अध्ययन महत्त्वपूर्ण हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक गोपालप्रकाश भट्टराई बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘यस्तो अध्ययन अति आवश्यक र महत्त्वपूर्ण हो, खास गरी लोपन्मुख र संकटापन्न अवस्थामा रहेका जीवजन्तु संरक्षणमा दीर्घकालीन रणनीति बनाउन अध्ययन महत्त्वपूर्ण हुनेछ।’

यूएसएडले उपलब्ध गराएको बजेट मात्रै यस्तो अध्ययनका लागि पर्याप्त नहुने भएकाले अन्यत्रबाट समेत बजेट जुटाउनुपर्ने उहाँले बताउनुभयो।

पछिल्लो अध्ययनअनुसार मुलुकभर साना–ठूला २ सय ८ स्तनधारी जीवजन्तु पहिचान भएका छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को अगुवाइमा वन्यजन्तु विभाग, त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग र काठमाडौं लिभिङ ल्याब्सले संयुक्तरूपमा यस्तो अध्ययन अघि बढाएका हुन्। अध्ययनले वनस्पतिको समेत नक्सांकन गर्ने बताइएको छ। दुई वर्षभित्र अध्ययन र नक्सांकन कार्य सम्पन्न हुने आईयूसीएन प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ डा. दीपनारायण साहले बताउनुभयो।

विज्ञहरू जलवायु परिवर्तन, जीवजन्तुका वासस्थान आसपासमा भइरहेको पूर्वाधार विकास र अन्य मानवीय गतिविधि, वासस्थानमा बढ्दो मिचाह वनस्पति र झाडीको पैmलावटजस्ता कारणले स्तनधारीसहित अन्य जन्तुको वासस्थान साँघुरिँदै गएको बताउँछन्। यस्तै कारणले लोपोन्मुख र संकटापन्न अवस्थामा रहेका जन्तुको संख्या बढाउन र वासस्थान संरक्षणमा चुनौती थपिएको उनीहरूको तर्क छ। हात्ती, गैंडा, बाघ, भालु, चितुवाजस्ता ठूला जीवजन्तु संरक्षणमा मात्र राज्यले प्राथमिकता दिएको अवस्थामा यस्तो अध्ययनले सबै जीवजन्तु प्राथमिकतामा पर्न सघाउ पुग्ने वन्यजन्तु विज्ञहरू बताउँछन्। अहिले अघि बढेको परियोजनाका लागि वन्यजन्तुबारे वन्यजन्तु विभाग र अन्य सरोकारवाला निकायहरूले विभिन्न समयमा गरेका अध्ययन महत्त्वपूर्ण हुने डा. साहको भनाइ छ। कुनै पनि क्षेत्रको हावापानीमा आएको सकारात्मक र नकारात्मक परिवर्तनको विश्लेषण जल तथा मौसम विज्ञान विभागले संग्रहित गरेको तथ्यांकलाई आधार मानिने उहाँले बताउनुभयो।

‘विभागले वर्षौैं अघिदेखि संग्रहित गरेको तथ्यांकले विगतलाई विश्लेषण गर्न सघाउ पुर्याउनेछ भने भविष्यको आंकलन गर्नसमेत मदत पुग्नेछ।’ –साहले भन्नुभयो। विभाग मातहत मुलुकका विभिन्न स्थानमा २ सयभन्दा बढी मौसम मापन केन्द्र स्थापना गरिएका छन्। सन् १९७० पछि नेपालका विभिन्न भेगमा मौसम मापन स्थापना गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्