‘अफ्रिकाका बौलाहा’ इदी अमिन



लन्डन, (एजेन्सी)
युगान्डामा हालै भइरहेको सेना र विद्रोहीबीचको संघर्षका कारण फेरि चर्चामा आइरहेको छ। यो देशको नाम आउनेबित्तिकै एक प्रकारको क्रुर अनौठो चरित्र बोकेको शासक इदी अमिनको स्मरण गराउँछ। यहाँ जनता मात्र होइन विश्वले नै तानाशाह अमिनको अत्यन्त क्रुर शासनको नमुना देखेका थिए।

अमिनले राष्ट्रपतिका रूपमा करिब ८ वर्षसम्म शासन गरेका थिए र सोही अवधिमा उनले क्रुरताको पराकास्ता देखाएका थिए। यो अवधिमा उनले ५ लाखभन्दा धेरैको ज्यान लिएको र कयौं महिलामाथि शोषण गरेको भन्ने आरोप उनीमाथि लगाइएको छ। उनको सम्बन्धमा उनी नरभक्षी अर्थात् मान्छेको मासुसमेत खाने गरेको आरोप लाइएको छ। तर उनी आफैले भने त्यसलाई अस्वीकार गर्दै आफू गोरा विरोधी मात्र भएको र उनीहरूले नै त्यस प्रकारको प्रचारबाजी गरेको बताएका थिए। उनी आफू कट्टर देशभक्त भएकाले नै जनताको अगाडि लोकप्रिय रहेको दाबी गर्छन्।

सन् १९६६ मा युगान्ड सेना र वायुसेनाका प्रमुख रहेका इदी अमिनले सन् १९७१ मा मिल्टन ओबोटेलाई सत्ताच्युत गर्दै त्यहाँको सत्ता आफ्नो कब्जामा लिएका थिए। तख्तापलटको एक हप्तापछि नै फेब्रुअरीमा अमिनले आफूलाई युगान्डाका राष्ट्रपति, सबै सशस्त्र बलका प्रमुख कमान्डर, सैन्य प्रमुख घोषित गरेका थिए। सत्तामा पुगेका तानशाह र उग्र राष्ट्रवादीले युगान्डाबाट लांगो र अछोली जातीय समूहको सफायका लागि एक प्रकारको जनजातीय नरसंहार कार्यक्रम थालेका थिए। त्यसको पछाडि एक मात्र उद्देश्य भनेको ओबोटे समर्थक सेनाको सफाया गर्नुथियो।

अमिनले सत्तामा पुगेको अर्को वर्ष सन् १९७२ मा युगान्डाको नागरिकता नभएका एसियालीलाई देश छाड्न आदेश दिएका थिए। त्यसपछि करिब ६० हजार भारतीय तथा पाकिस्तानीहरू देश छोड्न बाध्य भएका थिए। देशका कर्मचारीहरूको एउटा ठूलो हिस्सा एसियाली मूलका थिए। उनीहरूले युगान्डा छोडेपछि त्यहाँको अर्थव्यवस्था तहसनहस बनेको थियो।
सन् १९७९ मा तान्जानिय र अमिन विरोधी युगान्डा सेनाले विद्रोह गरेपछि अमिनको ८ वर्ष लामो तानाशाहको अन्त्य भयो। अन्ततः अमिनले घुँडा टेक्न बाध्य भयो र सन् १९७९ अप्रिल ११ मा युगान्डा छोडेर भाग्नुपर्यो। त्यसको दुई दिनपछि गठबन्धनको पूर्व सरकारले सत्ता सम्हालेको थियो। यद्यपि यसअघि सन् १९७८ अक्टोबर १ मा पनि उक्त सेनाले तान्जानियामा असफल आक्रमणको प्रयास गरेका थिए।

अमिनले देश छोडेपछि केह समय लिबियामा सरण लिए र फेरि उनी साउदी अरेबियामा बस्न गएका थिए। सन् २००३ मा उनको मृत्यु साउदीमा भयो। अमिनलाई ‘म्याड म्यान अफ अफ्रिका’ पनि भन्ने गरिन्थ्यो। त्यसका लागि केही जायज कारण पनि थिए। अमिनले मान्छेको हत्याका लागि प्रायः हतियारको प्रयोग गर्दैनथे। उनले केहीलाई जिउँदै जमिनमा गाडेका थिए भने केहीलाई आफ्ना भोकाएका गोहीहरूलाई खान दिएका थिए। उनले आफ्नो दरबारमा धेरै युवतीलाई यौन शोषण गरेका थिए।

सबैभन्दा अचम्म भनेको उनी मान्छेको मासु खान सौखिन थिए, भनिन्थ्यो। त्यसको प्रमाण पनि फेला परेको थियो। उनको फ्रिजबाट धरै मान्छेको टाउको बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्