हारेको खेल जित्दै एनआरटी क्वार्टरफाइनलमा



रमेश समदर्शी, बिर्तामोड

नेपाल पुलिस क्लबसँग हारिसकेको खेल जित्दै काठमाडौँको न्यूरोड टिम (एनआरटी) झापामा जारी दोस्रो रमपम गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आइतबारको खेलमा एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ नतिजामा रोक्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। खेलको अन्तिम समयमा पाएको अवसरलाई सदुपयोग गरेर एनआरटीले खेलको नतिजा आफ्नो पक्षमा पार्यो। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एनआरटी पुलिससँग १–० गोलले पछि परेको स्थितिलाई उल्ट्याउन सफल भएको हो।

एनआरटीका लागि अशोक थापामगर र राज पौडेलले गोल गरे भने पुलिसका लागि विक्रम धिमाल सफल बने। खेलमा अशोक थापामगर भाग्यमानी सावित हुँदा एनआरटीले अर्को चरणमा प्रवेश पायो। इन्जुरी समयमा पाएको फ्रिकिकमा निरज बस्नेतको प्रहारलाई नियन्त्रणमा लिँदै सरोज योञ्जनले अशोकलाई क्रस पास दिएका थिए। जतिखेर खेल सकिन एक मिनेट पनि बाँकी थिएन।

प्रतिस्पर्धात्मक खेलको शुरुआतीमा एनआरटीमाथि पुलिस बढी आक्रमक देखियो। खेलको ३१औँ मिनेटमा पुलिसका विक्रम धिमालले पहिलो गोल गरे। सुदीप राईको कर्नर प्रहारलाई उनले गोल गरेर टिमलाई १–० को अग्रता दिलाए पनि जितिसकेको खेल पुलिसले अन्त्यमा गुमायो।

दोस्रो हाफमा एनआरटीले सम्हालिएर खेल्ने प्रयास गर्यो। यद्यपि, गोल गर्ने थुप्रै अवसर खेर फाल्यो। दोस्रो हाफमा दर्शकले एनआरटीको पक्षमा हुटिङ गरेका थिए। रेफ्रीको निर्णय पनि स्वीकार्य नहुँदा केहीबेर नाराबाजीमै थिए दर्शक।
खेलको ८३औँ मिनेटमा एनआरटीका गोलरक्षक अशोक बराल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। पुलिसका ऋषि थापाले वान भर्सेज वानमा फ्लिक गरेको बललाई डिबक्स बाहिर सिधै हातले फ्याँकेपछि उनलाई रातो कार्ड दिइएको थियो। एनआरटीका प्रशिक्षक श्याम मालीले खेलाडी मनिष घलेलाई बाहिर बोलाउँदै अर्का गोलरक्षक सन्देश गुरुङलाई मैदान प्रवेश गराएका थिए। यसैबीच, अशोकले गोल गर्न भ्याए। १० खेलमा सीमित एनआरटीका खेलाडीले १–१ गोलको बराबरी खेल्दा दर्शक हुटिङसँगै उचालिएका थिए।

एनआरटीलाई एक मिनेट रोक्न नसक्दा निर्धारित समयमा १–१ गोलको बराबरी खेल्न बाध्य पुलिसले थप २० मिनेट समय खर्चियो। समय थपिएसँगै खेल अझ रोमाञ्चक बन्यो। थप समयमा एनआरटी लयमा फर्कियो।

१०४औँ मिनेटमा एनआरटीका अशोक थापामगरको प्रहारलाई राज पौडेलले गोल गर्दै टिमलाई २–१ को जीत दिलाए। यो फ्रिकिकमा राजले लो हेड गोल गरेका थिए। थप समयमा पुलिसका केही प्रहार एनआरटीका गोलरक्षक सन्देश गुरुङले बचाउ गरे।

खेलको म्यान अफ दी म्याच एनआरटीका अशोक थापामगर घोषित भए। उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपियाँसहित दुई तोला चाँदीको मेडल प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्