‘भाग्यले बाँचेकाहरु’का पाण्डेलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’



राजस्थान, ६ माघ ।
चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ जितेका छन् ।
बुधबार राति भारतको जयपुरमा सम्पन्न तेस्रो राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधामा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेका हुन् । यो विधामा नेपालसहित इटली, भारत, अफगानिस्तान, फ्रान्स लगायतका देशका फिल्ममेकरहरु प्रतिस्पर्धामा थिए ।

राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक सोमेन्द्र हर्षले महाभूकम्पको बेलामा समेत ज्यानको बाजी थापेर उत्कृष्ट डकुमेन्ट्री निर्माण गरेको भन्दै पाण्डेको प्रशंसा गरे । आगामी दिनमा नेपाली चलचित्रलाई प्राथमिकता दिने उनले बताए ।
अवार्ड थाप्दै पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए । नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ । ‘यही साता अमेरिकाको एशियन्स अन फिल्म फेस्टिभल र बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि भाग्यले बाँचेकाहरु अवार्डका लागि प्रतिस्पर्धामा छ ।’– निर्देशक पाण्डेले भने ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

प्रतिक्रिया दिनुहोस्