गौ हत्याप्रति राप्रपा कपिलवस्तुको आपत्ति



सीताराम चौधरी, चन्द्रौटा
कैलालीमा भएको गौ हत्याप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले भत्र्सना गरेको छ। धार्मिकस्थल कैलालीको गोदावरी वनमा केही दिनअघि १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिएका थिए। हिन्दू धर्ममा लक्ष्मीको रूपमा मानिने गाईलाई यसरी हत्या गर्नु धर्ममाथिको प्रहार भएको भन्दै घटनाप्रति कडा आपत्ति प्रकट गरेको हो।

कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गरी प्रशासनले कारबाही नगरे राप्रपा सशक्त विरोधसहित आन्दोलनमा उत्रने गर्ने जानकारी गराएको थियो। नेपालको राष्ट्रिय जनावरको हत्या गर्ने अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता अजय थापाले जोडदार माग गर्नुभयो। यो घटना हुनु भनेको हिन्दू सम्प्रदायमाथि प्रहार गरेको समेत थापाले आपत्ति जनाउनुभयो।

हिन्दू राष्ट्र माग गर्दै आएको पार्टीलाई यो घटना असह्य रहेको पत्रकार सम्मेलनमा राप्रपा नेताहरूले बताएका थिए। घटनालाई सत्यतथ्य छानबिनका लागि मंगलबार हिन्दूवादी संगठनहरू मध्यपश्चिम क्षेत्रमा आमहडताल गरेको जानकारी गराउँदै यस विषयमा सरकार गम्भीर नभए नेपाल नै बन्द गर्ने राप्रपा शिवराज नगर अध्यक्ष रामबहादुर रायमाझीले चेतावनी दिनुभयो। ८२ प्रतिशत हिन्दूहरू रहेको देशमा हिन्दू राष्ट्र कायम नगरेकाले यस्तो घटना घटेको राप्रपा कपिलवस्तु क्षेत्र नं. ४ का क्षेत्रीय उपाध्यक्ष चुरामणि तिवारीले आरोप लगाउनुभयो।

यता नेपाल मुक्ति मञ्च कपिलवस्तुले समेत कैलालीमा भएको गौ हत्याको घोर आपत्ति प्रकट गरेको छ। मुक्तिमञ्चका जिल्ला सचिव प्रेमशंकर शुक्लाले विज्ञप्ति जारी गर्दै सरकारले तत्काल घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो। कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापन गर्ने भन्दै ती गाईगोरुलाई गोदावरी पुर्याएको स्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्