खरेल र गजुरेल सुजाता बचाउ अभियानमा



गत असार महिनामा दोलखाको सुन्दरावतीमा अवस्थित सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गरेका तथा असोजमा म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर १ लाख २१ हजार रुपियाँ जुटाएका लोकप्रिय गायक प्रमोद खरेल यति बेला प्लास्टिक एनिमियाबाट पीडित झापा पृथ्वीनगरकी सुजाता सुवेतीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। उनीसँगै हास्यकलाकार मनोज गजुरेल र नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश निवासी पनि सहयोग जुटाउन लागिपरेका छन्। २२ वर्षीया सुजाता सुवेदी यति बेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैय्यामा छट्पटाइरहेकाले उनलाई सक्दो सहयोग गर्न उनीहरूले आफ्ना फ्यानलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आग्रह गरेका छन्।

‘बानेश्वरको गेस्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं। हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई’, सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हँुदै भने– ‘चिकित्सकको भनाइअनुसार २५ लाख रुपियाँजति खर्च हुने देखिन्छ। गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउने? कलाकारहरूको अभियानले आशा देखाएको छ।’ सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआईसी बैंकको खाता नम्बर ९५४४९२३३७५२४००१ मा सहयोग गर्न सक्ने गायक खरेलले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्