बस दुर्घटनामा ३ को मृत्यु, ३६ घाइते



कुशलबाबु बस्नेत, उदयपुर
सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको लेखानी–५ भदौरेमा तीर्थयात्री बोकेको बस शुक्रबार बिहान ९ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ यात्री घाइते भएका छन्। दुर्घटनामा सप्तरी मधुपट्टी–६ का ३३ वर्षीय कुसुमदेवी राम, १३ वर्षीय बालक दीपेश राम र वर्ष ६० की सरस्वतीदेवी रामको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी चिरञ्जीवी कोइरालाले बताए।
हलेसी महादेवको दर्शन गरी फर्किंदै गर्दा ना४ख ३६२० नम्बरको बस बिहान ९ बजे लेखानी–५ स्थित उकालो सडकमा साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नरबहादुर केसीले बताउनुभयो।

सप्तरीबाट हलेसी गएको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको केसीले बताउनुभयो। बसमा ४२ जना यात्रु र २ जना स्टाफ रहेको बस दुर्घटनामा ३६ जना घाइते भएको हुन्। चालकसहित १० जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको कटारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरू कटारी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्केका छन्।

घाइते हुनेहरूमा वनरझुला–३ का ४८ वर्षीय शिव पासवान, हर्दिया–८ बस्ने ३० वर्षीय राम सदाय, हरिपुर–६ का ४८ वर्षीय दर्शन मण्डल, मधुपट्टी–६ कनकपुराका ६१ वर्षीय गणेश रावत, ३० वर्षीया विन्दा पासवान, ३५ वर्षीया हरिहरदेवी सदा, ५२ वर्षीय जनक राम र उनकी ५१ वर्षीया श्रीमती फूलकुमारी राम रहेका छन्। यसै गरी अन्य घाइतेहरूमा मधुपट्टीकै ४० वर्षीय खुसरी सदा, ३० वर्षीया शारदा चौधरी, मधुपट्टी–४ काविरनगरका देवेन्द्र चौधरी, २१ वर्षीया रीता चौधरी, ३१ वर्षीया प्रमिलाकुमारी राम, ११ वर्षीय छोरा योगेश रावत, मौलाहा–३ कासिता गुप्ता, कुसाहाका चालक ४५ वर्षीय ललन पासवान, ३१ वर्षीय अनिलकुमार राम, पन्सेरा ६ बस्ने २० वर्षीया सरिता सदा छन्। त्यसै गरी पन्सुरा ९ कै २३ वर्षीय चन्दनकुमार राम, मलाहा गाविस–३ कानथन विश्वकर्मा, सिराहा लाहन–८ का ३५ वर्षीया आशा विश्वकर्मा छन्। दुर्घटनाको समाचार पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी घटनास्थल पुगेको थियो। साँघुरो र जीर्ण सडकका कारण दुर्घटना भएको यात्रुहरूले बताए।

प्रतिक्रिया दिनुहोस्