साढे १६ हजार भूकम्पपीडितलाई बीमा भुक्तानी



काठमाडौं, (नेस)
भूकम्पले क्षति भएका घरधनीलाई हालसम्म बीमावापत १२ अर्ब ४१ करोड ८१ लाख रुपियाँ भुक्तानी भएको छ। यो रकम दाबी संख्याको ९३ प्रतिशत हो।
बीमा कम्पनीहरूमा परेको कुल दाबीमध्ये १६ हजार ५ सय ४९ घरको प्रिमियम भुक्तानी गरिएको बीमा समितिले जनाएको छ। भूकम्पीडितहरूलाई उक्त रकम विभिन्न बीमा कम्पनीमार्फत उपलब्ध गराएको समितिको भनाइ छ। बीमा समितिले बीमा सम्बन्धी विभिन्न योजना पनि अघि सारेको छ। समितिकै सक्रियताका कारण बीमासम्बन्धी चेतना अभिवृद्धि भएकाले बीमा गर्नेको संख्या पनि बढेको समितिले जनाएको छ।
बीमा सम्बन्धी प्रचारप्रसारका लागि समिति लागिपरेको जनाएको छ। समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले नेपाल समाचारपत्रसंँग कुरा गर्दै भन्नुभयो–‘बीमाप्रति सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेका छौं।’ प्रचारप्रसारपछि बीमाप्रतिको उनीहरूको चासो सर्वसाधारणमा बढेको अध्यक्ष केसीको भनाइ छ।
आर्थिक वर्ष २०७१÷७२ मा बीमा व्यवसायबाट ३६ अर्ब २८ करोड ९० लाख रुपियाँ तथा आर्थिक वर्ष २०७०÷७१ मा ३० अर्ब ४३ करोड १३ लाख रुपियाँ बीमा शुल्क आर्जन भएको समितिले जनाएको छ। त्यस्तै सम्बन्धित घरधनीले भूकम्प जानु अघि बीमा गरेका घर, अपार्टमेन्ट तथा मलको संख्या १७ हजार आठ सय ४० घरको बीमाको दाबी परेको थियो।
समितिका अनुसार जटिल प्रकृतिका समस्या रहेका दाबी उपर बीमा दाबी उजुरी छानविन समितिले छानविन गरिरहेको छ। भुक्तानीपछि पटक–पटक आएका परकम्पबाट क्षति भएका घर र आवास भत्किने समस्या बढी भएकाले पनि समस्या दाबीप्रतिको भुक्तानीमा केही समस्या आएको समितिको भनाइ छ। हाल नेपालमा ९ वटा जीवन बीमा कम्पनी र १६ वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्