‘छक्का पञ्जा’ ले दुई दिनमा एक करोड पचहत्तर लाख



नेपाली हास्यकलाकार टोलीले बनाएको कमेडी फिल्म ‘छक्का पञ्जा’ अहिले चर्चामा छ। दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा’ ले दुई दिनमा एक करोड पचहत्तर लाखको व्यवसायिक सफलतासँगै दर्शकबाट पनि राम्रो प्रतिकृया कमायो।

नेपाली हास्य कलाकारहरुका लागि ठूलो पर्दामा ६ अंक खुब फापेको देखिन्छ। यसअघि पनि छक्का पञ्जाकै टिमले ६ एकान ६, वडा नं ६ प्रदर्शनमा ल्यायो। ती फिल्महरु पनि सफल रहे।

दर्शकको मनमा प्रश्न उठन सक्छ, यस पटक पनि चर्चा र दर्शकको भिड कमाउने गरी के छ हास्यकलाकारहरुको फिल्ममा त्यस्तो ?

६ सबल पक्ष

१) पारिवारिक वातावरणमा हेर्न सकिने प्रस्तुति 
कमेडी जान्रामा बनेको फिल्म छक्कापञ्जामा कुनै पनि दृश्य परिवारसँग बसेर हेर्न अफ्ठ्यारो हुने खालका छैनन्। सहज र सरल प्रस्तुतिबाटै प्लटहरुलाई पर्दामा उतारिएको छ। चलचित्रका कुनै पनि दृश्य भद्दा र अनुपयुक्त लाग्दैन।

२) बढ्दो बेरोजगारीको र वैदेशिक रोजगारीबीचको सम्बन्ध 
फिल्ममा नेपाली समाजको समस्या, बेरोजगारी र त्यसका कारण विदेशिन बाध्य युवा जमातको कथा प्रस्तुत गरिएको छ। म्यानपावरे माइलाको सहयोगमा आमाको उपचार गराउनदेखि, डिभी परेर र प्रेमिकासँग विवाह गर्न पाउने प्रलोभनका कारण फिल्ममा माग्ने, सरस्वती जस्ता मुख्य पात्रहरु विदेश जाने सोच बनाउँछन्। यी पात्रहरु नेपाली समाजका बेरोजगार युवाका प्रतिनिधि जस्तो लाग्छन्।

३) प्रविधिको प्रयोग र त्यसको असर 
फिल्मको कथामा प्रविधिको र सामाजिक सञ्जालको प्रयोगमाथि व्यङ्ग्य गर्ने प्रयास गरिएको छ। सामाजिक सञ्जालले निम्त्याएको नकारात्मक असरलाई पात्रहरुले संवादको माध्यम व्यक्त गरेका छन्। फिल्ममा भगवान उर्फ राजाकी श्रीमती चम्पा अरुसँग भागेपछि उसले बोल्छ,’पहिले पहिले डेटिङ हुन्थ्यो आजकाल मोबाइलबाटै सेटिङ हुन्छ।’ यस्तै संवादले प्रविधिको गलत प्रयोगमाथिको प्रहार बुझ्न सकिन्छ।

४) हास्यप्रधान संवाद 
२ घण्टा १५ मिनेट लामो फिल्म पूरै समय निकै हास्यप्रद लाग्छ। फिल्ममा पात्रहरुले गर्ने संवाद र बोल्ने डाइलगहरुमा व्यङ्ग्य मिसिएको पाइन्छ जसले गर्दा हाँसो रोकेर फिल्ममै मात्र ध्यान दिन दर्शकलाई गाह्रै पर्ला। पात्रहरुको हास्यतत्व मिसिएको हाउभाउले पनि दर्शकहरुलाई रमाइलो गराउँछ।

५) गीत संगीतको प्रयोग 
यसअघि वडा नं ६ को गीत ‘सुर्के थैली’ले हास्यकलाकारहरुको फिल्मबाट नयाँ कीर्तिमान राख्यो युट्युबमा सबैभन्दा धेरै हिट्स बटुलेर। यो पटक पनि ‘सुर्के थैली’ जस्तै लोक भाकाको प्रयोग फिल्ममा भएको छ। गीतको बोल छ, पूर्व पश्चिम रेल। गीतलाई गाउँको मेला भएको ठाउँमा प्रस्तुत गरिएको छ जसको नृत्य निर्देशन पनि आकर्षक देखिन्छ। त्यस्तै अर्को गीत रहेको छ ‘सुन न चम्पा’। पश्चिमी लवज रहेको यो गीतले फिल्म सार्वजनिक हुनु अघिनै निकै चर्चा कमायो। चलचित्रमा दुईवटा मात्र गीत भए गीतहरु पनि सही प्लटमा प्रयोग भएका छन्। र दुवै गीतको शब्द र संगीत स्रोतालाई रमाइलो लाग्न सक्छ। शब्द र भाकाको फरक प्रयोग नै गीतहरुको विशेषता हुन्।

६) निर्देशन र अभिनय  
पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हास्य कलाकार दीपाश्री निरौलाले नारीवादी कथा प्रस्तुतिको प्रयास गरेकी छिन्। एउटी नारी कसरी मन नलागेको पुरुषसँग विवाह गर्न बाध्य हुन्छे, कसरी उसलाई साधनको रुपमा हेरिन्छ र कसरी ऊ समाजसँग डराएर बाच्नु पर्छ भन्ने विषयलाई पनि विषयवस्तुमा ठाउँ दिइएको छ। छरिएका विषयहरुलाई सिङ्गो कथाको रुप दिन गरिएको प्रयास सम्मानयोग्य छ। अभिनयमा सबै कलाकारहरुले न्यायपूर्ण काम गरेको भान हुन्छ। हास्य कलाकारितामा वर्षौ काम गरेका कलाकारहरुको समूहले आ-आफ्नो चरित्र मजाले गरेको पाइन्छ। फिल्मको छायाङ्कनमा पुरुषोत्तम प्रधान सधैंझै छक्कापञ्जामा पनि कुशल ठहरिएका छन्। ब्याकग्राउन्ड संगीतको प्रयोग पनि फिल्ममा राम्रो भएको छ। धेरै टुक्रे सिनहरु देखिए पनि दृश्य सम्पादन राम्रो भएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्