काठमाडौं।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै शुक्रबारदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ।
एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल र वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा पोखरा फाइनान्सका निवर्तमान अध्यक्ष राजकुमार गुरुङले स्वागत मन्तव्य राख्दै वित्तीय संस्थाहरूबीचको मर्जरको आवश्यकता र औचित्यबारे प्रकाश पारे।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोजमान श्रेष्ठ, डेभलपमेन्ट बैंकर एशोसियसनका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मर्जर सम्पन्न गरेकोमा दुवै संस्थालाई शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूले वित्तीय संस्थाहरूको सुदृढीकरणका लागि हुने यस्ता प्रक्रियामा नियामक निकायले आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
पोखरा फाइनान्सका अध्यक्ष अजयकुमार मिश्रले दुई संस्था एक भएपछि संस्था थप बलियो बनेको उल्लेख गर्दै आगामी दिनमा सुदृढ संस्थागत सुशासनसहित प्रभावकारी वित्तीय संस्थाका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले मर्जर प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवादसमेत व्यक्त गरे।











प्रतिक्रिया