सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ बनाइने


कैलाली।

डडेल्धुराको आलीताल गाउँपालिका वडा नं. ८ स्थित डोलागाउँलाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा ‘वातावरणमैत्री नमुना गाउँ’ का रूपमा विकास गरिने भएको छ । किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय सरकार र गाउँबासीसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो ।

‘प्रकृतिमै रमाऔँ, प्रकृतिमै कमाऔँ, वातावरणमैत्री डोला गाउँ मिलेर बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ । १६५ घरधुरी रहेको यस गाउँलाई नमुना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार र आलीताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ ।

निःशुल्क कफी बेर्ना वितरण र व्यावसायिक तालिम

अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोलागाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादनसम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोलागाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात् शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमुना गाउँका सदस्यहरूलाई निःशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ ।

बेर्ना वितरण कार्यक्रममा बोल्दै आलीताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभयो । उहाँहरूले वातावरणमैत्री गाउँ विकासका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता दोहो¥याउनु भयो ।

पूर्वाधार र वातावरण संरक्षणका कार्यक्रम

सम्झौता अनुसार वातावरणमैत्री गाउँ विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा आलीताल गाउँपालिकाले बजेट विनियोजन गर्नेछ । यस्तै, सहकारी संस्थाले हरित कर्जा मार्फत कृषि तथा वातावरणमैत्री उद्यमशीलता प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।

संस्थाले स्थानीय उत्पादनको बजारीकरण, नमुना गाउँका सदस्यहरूलाई सहकारीको सेवा उपभोगमा विशेष अनुदान, कार्बन उत्सर्जन न्यूनीकरणका उपाय र सरसफाइ सामग्री तथा उपकरणहरू वितरण गर्नेछ। यसका साथै वृक्षारोपण, प्राकृतिक स्रोत संरक्षणमा स्थानीयको क्षमता अभिवृद्धि, र ‘शून्य प्रदूषण, शून्य फोहोर’ सम्बन्धी तालिम एवं सामुदायिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने संस्थाले जनाएको छ ।

संस्थाका अनुगमन विभाग प्रमुख प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न बेर्ना वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कोषाध्यक्ष भक्तबहादुर गाहा, स्थानीय समाजसेवी रामचन्द्र पुन, संस्थाका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।