रसुवा।
अविरल वर्षाका कारण नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा क्षेत्र रसुवागढीस्थित ल्हेन्दे नदीमा आइतबार साँझ लेदोसहितको बाढी आएको छ। बाढीका कारण नदीको बहाव असामान्य रूपमा बढेपछि टिमुरेस्थित भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधनहरू सुरक्षित स्थानमा सारिएको छ।
प्राप्त जानकारीअनुसार आइतबार साँझ करिब ७:४५ बजे ल्हेन्दे नदीको बहाव एक्कासी बढेपछि भोटेकोशी नदी नजिक रहेको भन्सार यार्ड जोखिममा परेको थियो। सम्भावित क्षतिलाई मध्यनजर गर्दै सम्बन्धित निकायले यार्डमा रहेका सवारी साधनहरू तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।
बाढीको अवस्थालाई निरन्तर निगरानीमा राखिएको सम्बन्धित निकायले जनाएको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभए पनि नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै आधिकारिक सूचना तथा सुरक्षा निकायका निर्देशनको पालना गर्न सबैमा अनुरोध गरिएको छ।











प्रतिक्रिया