वैज्ञानिक प्रमाणबिनाका स्वास्थ्य समाचारले जनस्वास्थ्यमा गम्भीर असर पार्छन् : लक्ष्मण अधिकारी

0
Shares

’चेतना हुनु र व्यवहार परिवर्तन हुनु फरक कुरा हो, स्वास्थ्य पत्रकारिता परिणाममुखी हुनुपर्छ’ : श्रीरामसिंह बस्नेत

काठमाडौं।

स्वास्थ्यसम्बन्धी समाचार तथ्य, वैज्ञानिक प्रमाण र आधिकारिक स्रोतका आधारमा मात्रै प्रकाशन गर्नुपर्ने तथा स्वास्थ्य पत्रकारितालाई उपचारमुखीभन्दा जनस्वास्थ्य, रोकथाम र व्यवहार परिवर्तनमा केन्द्रित गर्नुपर्नेमा वरिष्ठ स्वास्थ्य पत्रकार तथा सञ्चार विज्ञहरूले जोड दिएका छन् ।

नेपाल प्रेस इन्स्टिच्युटको आयोजना तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको सहआयोजनामा आयोजित दुई घण्टे भर्चुअल प्रशिक्षण कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार लक्ष्मण अधिकारीले “वैज्ञानिक प्रमाणबिना प्रकाशित हुने स्वास्थ्य समाचारले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । कुनै पनि स्वास्थ्यसम्बन्धी समाचार तथ्य, प्रमाण र आधिकारिक स्रोतका आधारमा मात्रै सार्वजनिक हुनुपर्छ,“ भन्नुभयो ।

त्यसैगरी वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले “चेतना हुनु र व्यवहार परिवर्तन हुनु फरक कुरा हो । स्वास्थ्य पत्रकारिताले सूचना दिने मात्र होइन, मानिसको व्यवहार परिवर्तनमा समेत योगदान पु¥याउन सक्नुपर्छ । समाचार प्रकाशित गरेर मात्र दायित्व पूरा हुँदैन, त्यसले समाजमा कस्तो परिणाम दियो भन्ने विषयमा निरन्तर फलोअप गर्नुपर्छ,“ भन्दै परिणाममुखी स्वास्थ्य पत्रकारिताको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्नुभएका नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले स्वास्थ्य पत्रकारिताको विगत, वर्तमान र भविष्यका चुनौती तथा अवसरलाई समेटेर भएको दुई घण्टे अन्तरक्रियात्मक प्रशिक्षण पत्रकारका लागि अत्यन्त ज्ञानवद्र्धक र उपयोगी भएको बताउनुभयो ।

वरिष्ठ स्वास्थ्य पत्रकार लक्ष्मण अधिकारीले करिब दुई दशकअघि नेपालमा दादुरा–रुबेला खोप अभियान सफल बनाउन सञ्चारमाध्यमले खेलेको सकारात्मक भूमिकाको स्मरण गर्दै गलत र अपुष्ट समाचारले जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी दिनुभयो । उहाँले कोभिड–१९ महामारीका क्रममा पर्याप्त वैज्ञानिक आधारबिना प्रकाशित भएका ’खोप लगाएपछि मृत्यु’ जस्ता समाचारले नागरिकमा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै स्वास्थ्य पत्रकारितामा तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले रिपोर्टर र डेस्कबीचको समन्वय कमजोर हुँदा तथ्यगत त्रुटि हुने गरेको उदाहरण दिँदै उहाँले कालाजार सार्ने भुसुनालाई लामखुट्टे फोटो राखेर प्रकाशित गरिएका समाचारको उदाहरण दिँदै सम्पादन प्रक्रियामा समेत विशेष सावधानी आवश्यक रहेको बताउनुभयो । प्रशिक्षकहरूले स्वास्थ्यलाई अस्पताल, चिकित्सक र औषधिमा मात्र सीमित गरेर हेर्न नहुने धारणा राख्नुभएको थियो ।

उहाँहरूका अनुसार सडक सुरक्षा, वातावरण, कृषि, खाद्य सुरक्षा, कर नीति, पूर्वाधार, आर्थिक अवस्था र सामाजिक व्यवहारजस्ता पक्षहरू पनि जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएका विषय हुन् । त्यसैले स्वास्थ्य पत्रकारिताले बहुक्षेत्रीय (मल्टिसेक्टरल) दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औँल्याइयो ।

वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले मानिसहरूलाई धूम्रपान, मदिरा वा लागुऔषध हानिकारक हुन् भन्ने जानकारी हुँदाहुँदै पनि व्यवहार परिवर्तन हुन नसकेको उल्लेख गर्दै स्वास्थ्य पत्रकारिताको उद्देश्य सूचना सम्प्रेषणमा मात्र सीमित हुन नहुने बताउनुभयो । उहाँले जनस्वास्थ्यका मुद्दामा दीर्घकालीन प्रभाव पार्ने सामग्री उत्पादन, निरन्तर अनुगमन र फलोअप पत्रकारिताको संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य पत्रकारिता अत्यन्त विशिष्टीकृत क्षेत्र भएकाले हजारौँ रोग, उपचार पद्धति, वैज्ञानिक अनुसन्धान तथा नयाँ प्रविधिबारे निरन्तर अध्ययन नगरी गुणस्तरीय समाचार लेख्न सम्भव हुँदैन । स्वास्थ्य पत्रकारितामा विषयगत तालिम, अध्ययन तथा अनुसन्धान अझै अपर्याप्त रहेको बताउँदै पत्रकारले आधिकारिक स्रोत र विषयविज्ञको भनाइका आधारमा मात्रै समाचार तयार गर्नुपर्ने बताउनुभयो । त्यसैगरिु वरिष्ठ पत्रकार अधिकारीले आफूले पत्रकारिता सुरु गर्दा चिकित्सकसँग प्रत्यक्ष भेटघाट, पुस्तकालयमा अध्ययन र विज्ञसँग लामो छलफल गरेर समाचार तयार गर्ने गरेको स्मरण गर्दै अहिले इन्टरनेटले काम सहज बनाए पनि त्यहाँ उपलब्ध सबै सामग्री विश्वसनीय नहुने भएकाले तथ्य प्रमाणीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “स्वास्थ्य बिट सम्हाल्ने पत्रकार आफैँ चिकित्सक बन्न खोज्नु हुँदैन । रोग, उपचार र औषधिसम्बन्धी समाचार सम्बन्धित विषयविज्ञकै भनाइका आधारमा तयार हुनुपर्छ,“ उहाँले भन्नुभयो । पछिल्लो समय स्वास्थ्य पत्रकारिता उपचारसम्बन्धी समाचारमा बढी केन्द्रित भएको उल्लेख गर्दै रोगको रोकथाम, स्वास्थ्य शिक्षा, सरसफाइ, खोप, पोषण तथा सार्वजनिक स्वास्थ्यका विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ पत्रकार अधिकारीले बर्ड फ्लूबारे बोल्दै उहाँले यसको करिब ७५ प्रतिशत प्रभाव कृषि र अर्थतन्त्रसँग सम्बन्धित हुने बताउनुभयो । किसान, पोल्ट्री व्यवसायी तथा राष्ट्रिय अर्थतन्त्रमा यसको प्रत्यक्ष असर पर्ने भएकाले नियन्त्रण, क्षतिपूर्ति र व्यवस्थापनका विषय कृषि तथा आर्थिक पत्रकारिताको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ थियो । मानिसमा बर्ड फ्लू संक्रमण दुर्लभ हुने, राम्रोसँग पकाएको मासु र अण्डाबाट संक्रमण नहुने तथा बिरामी वा मरेका कुखुरा तथा काँचो मासु सम्हाल्दा मात्रै विशेष सावधानी आवश्यक हुने जानकारी उहाँले दिनुभयो ।

त्यस्तै अव्यवस्थित रूपमा बिक्री हुने मदिरा तथा घरेलु मदिरामा मिसावटका कारण पनि गम्भीर जनस्वास्थ्य समस्या सिर्जना भइरहेको उल्लेख गर्दै यसतर्फ सरकारको प्रभावकारी नियमन र सञ्चारमाध्यमको निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले बर्डफ्ल्का कारण मानिसको मृत्यु खासै नभएपनि कुखुरा र अण्डा नष्ट गर्दा लगानीकर्ता किसानको धनको नोक्सानीसँग, मानसिक रुपमा समस्या हुने र स्वास्थ्य समस्या निम्तीने कुरा औल्याउँदै नेपालमा पछिल्लो समय बर्डफ्ुल्लुको महामारीले सर्वसाधारणले कुखुराको मासु,अण्डाको विकल्पमा माछा र खशीको मासु रोज्न बाध्य भएका छन् । कुखुरामा बर्डफ्लु भएसँगै माछा र खशीको मासु विक्री वितरणमा समेत मूल्य बृद्धि भएको छ । साधारण नागरिकका लागि मासुको विकल्पमा प्रोटिन, मिनिरल, भिटामिन प्राप्त हुने अन्य खानाको बारेमा आम नागरिकलाई बैकल्पिक बाटो देखाउने गरि जनचेतना हुनुपर्ने औल्याउनुभयो । उहाँले आयुर्वेदिक औषधिका नाममा सामाजिक सञ्जाल युटुब लगायतमा विना अध्ययन र विज्ञान प्रविधिलाई नजरान्दाज गरी गाजाको मुन्टा पकाएर खाँदा मुटुको समस्या र ग्याष्टिक निको हुन्छ भनेर प्रचार गरेको आधारमा प्रयोग गर्नेहरु धुलिखेल अस्पतालमा मात्र २ जना गम्भिर मुटुको समस्या लिएर पुगेको मुटुरोध विशेषज्ञ डा. राजेन्द्र कोजुले सामाजिक सञ्जाल मार्फत सार्वजनकि गर्नुभएको कुरा जानकारी गराउनुभयो ।

सोही अवसरमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले लागौऔषध प्रयोगकर्तामा युवापुस्ता बढी भएको र यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्ने कुरा बताउनुभयो । त्यसैगरि अर्का सहभागी पत्रकार अच्युत नेपालले पनि समय सापेक्ष स्वास्थ्यका बिषय र लेखनले जनचेतना जगाउने बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा नेपाल प्रेस इन्स्टिच्युटका महासचिव विज्ञान शर्माले दुई घण्टे प्रशिक्षणको समरी प्रस्तुत गर्दै स्वास्थ्य पत्रकारिता वैज्ञानिक प्रमाण, तथ्य परीक्षण, बहुक्षेत्रीय दृष्टिकोण, सार्वजनिक स्वास्थ्य, व्यवहार परिवर्तन तथा परिणाममुखी पत्रकारितामा केन्द्रित हुनुपर्ने निष्कर्ष प्रस्तुत गर्नुभयो । उहाँले स्वास्थ्य पत्रकारिता अस्पताल वा उपचारमा मात्र सीमित नरही पोषण, मानसिक स्वास्थ्य, वातावरण, जीवनशैली, स्वास्थ्य सेवामा पहुँच, आर्थिक भार तथा रोकथामका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
भर्चुअल प्रशिक्षणमा नेपाल प्रेस इन्ष्टिच्यूटका निवर्तमान अध्यक्ष तीर्थ कोइरालासहित विभिन्न सञ्चारमाध्यममा कार्यरत ३६ जना पत्रकारको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूलाई शाखा अध्यक्ष भगवती तिमल्सिनाले स्वागत गर्नुभएको थियो भने नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणमा उठाइएका विषयले स्वास्थ्य पत्रकारितालाई अझ तथ्यपरक, जिम्मेवार र जनस्वास्थ्य केन्द्रित बनाउन महत्वपूर्ण मार्गदर्शन गरेको सहभागी पत्रकारहरूले बताएका थिए ।