नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको १५ वर्ष पूरा, श्रवण तथा वाणी सेवामा सेवा विस्तार


काठमाडौं।

नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकले श्रवण तथा वाणीसम्बन्धी सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको जनाएको छ। क्लिनिकका अनुसार यस अवधिमा श्रवण परीक्षण, श्रवण सहायक उपकरण जडान, कक्लियर इम्प्लान्ट सेवा, वाणी तथा भाषा उपचार, परामर्श तथा नियमित अनुगमन सेवा मार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ।

क्लिनिकको मुख्य कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ भने विराटनगर, पोखरा र नेपालगञ्जमा शाखा सञ्चालनमा छन्। यसका साथै भक्तपुरको बीपीआई फाउन्डेसन (ठिमी), पुल्चोकस्थित अरुस लाइफस्टाइल अस्पताल तथा ग्वार्कोस्थित बीएनबी अस्पतालमा पनि आफ्नै अडियोलोजी सेवा सञ्चालनमा रहेको क्लिनिकले जनाएको छ।

क्लिनिकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको ध्वनिरहित श्रवण परीक्षण कक्षमा उच्च गुणस्तरका ध्वनि नियन्त्रण प्रणाली, दोहोरो ध्वनि अवरोधक पर्खाल, कम्पन नियन्त्रणयुक्त भुइँ तथा ध्वनि चुहावट रोक्ने विशेष ढोका जडान गरिएको छ। यसले श्रवण परीक्षणलाई अझ सटीक र भरपर्दो बनाउन सहयोग पुर्‍याउने क्लिनिकको दाबी छ।

१५ वर्षको अवधिमा ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी श्रवण सहायक उपकरण जडान तथा ४० हजारभन्दा बढी श्रवण परीक्षण सम्पन्न गरिएको क्लिनिकले जनाएको छ।

क्लिनिक नेपालमा फोनाक, सिग्निया र स्टार्की ब्रान्डका श्रवण सहायक उपकरणको आधिकारिक वितरक पनि हो। श्रवण सहायक उपकरण छनोट, जडान, आवश्यक प्रोग्रामिङ, परामर्श, वारेन्टी, नियमित अनुगमन, प्राविधिक सहयोग, मर्मतसम्भार तथा आजीवन सहयोग सेवा उपलब्ध गराइँदै आएको क्लिनिकले जनाएको छ।

संस्थापक तथा अध्यक्ष पुरुषोत्तम भुर्तेलको नेतृत्वमा सञ्चालन भइरहेको क्लिनिकमा हाल ३५ भन्दा बढी अडियोलोजिस्ट, वाणी तथा भाषा विशेषज्ञ र व्यवस्थापन तथा सञ्चालनसँग सम्बन्धित जनशक्ति कार्यरत छन्।

क्लिनिकले १५ वर्षको यात्रालाई सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा पनि आधुनिक प्रविधि र सेवाग्राही–केन्द्रित उपचार प्रणालीमार्फत श्रवण तथा वाणीसम्बन्धी सेवालाई थप प्रभावकारी र सर्वसुलभ बनाउने लक्ष्य लिएको जनाएको छ।