मोदी खोलामा आकस्मिक बाढी : घर, होटल र झोलुङ्गे पुल बगायो, घान्द्रुक सडक अवरुद्ध


पोखरा।

लगातारको वर्षापछि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको आकस्मिक बाढीले मोदी खोलाको जलस्तर ह्वात्तै बढ्दा नदी किनारका घर तथा संरचनामा ठूलो क्षति पुगेको छ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दिलीप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ भने स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।

बाढीसँगै मोदी खोलाको तीव्र कटानले नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएकाले अन्नपूर्ण पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीय तथा स्वदेशी–विदेशी पर्यटक प्रभावित भएका छन्।

गाउँपालिका अध्यक्ष केसीका अनुसार किम्रुङ खोलामा लेदोसहितको बाढी आएपछि मोदी खोलाको बहाव असामान्य रूपमा बढ्दा उक्त क्षति भएको हो। “आकस्मिक बाढीले एउटा घर र होटल पूर्ण रूपमा बगाएको छ भने अर्को रेष्टुरेन्टमा क्षति पुगेको छ। साथै घान्द्रुक जाने मुख्य सडक पनि अवरुद्ध भएको छ,” उनले भने।

स्थानीयवासीका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला केही समय थुनिएको र त्यसपछि एक्कासी खुल्दा ठूलो बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि स्थानीय प्रशासन र गाउँपालिकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम थालेका छन्। प्रशासनले मोदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली पुगेर क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।