रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ लाङटाङ र मुण्डुमा पहिलोपटक स्याउको परीक्षण सफल भएपछि स्थानियहरूमा खुशी छाएको छ । गत पुस महिनामा रोपिएको स्याउको बिरुवा फुलेको छ । समुद्री सतहबाट ३ हजार ५ सय मिटरको उचाइमा स्याउ खेती शुरू गरिएको हो ।
स्थानीय फिन्जो तामाङले नमुना परीक्षणका लागि विभिन्न जातका स्याउ रोपेका थिए । उनका अनुसार स्याउको परीक्षण सफल भएको छ, अब पक्कै पनि राम्रो हुनेछ । उनले गत मंसिरमा नै रेड डेलिसिएस, रोयल डालिसियसर फुजी ४८ वटा स्याउका बिरुवा रोपेकोमा चार–पाँचवटा बिरुवा मरेका छन् भने प्रायजसो बिरुवा सप्रिएका छन् ।
अर्का स्थानीय ग्याल्बो लामा भन्छन्, ‘पर्यटकीय क्षेत्र यहाँ आउने पर्यटकहरूले धेरै स्याउ खपत गर्ने गर्दछन् ।’ उनका अनुसार अहिले २० वटा ग्रिन हाउस बनाइएको छ । परीक्षणका लागि १३ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो ।
अहिले यहाँ स्याउको परीक्षण सफल भएपछि धेरैले स्याउका बिरुवा रोप्ने सोच बनाएका छन् । वडा अध्यक्ष डिण्डु ज्याङ्वा तामाङ भन्छन्, ‘पहिले स्थानीय जातका स्याउ रोप्दा फल्न छाड्यो, अनुसन्धानको कमीले स्याउ मासिएको थियो भने ६ महिनाअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रद्वारा लाङटाङमा अन्य जातका स्याउका बिरुवा रोपिएको हो ।’
अर्का स्थानीय टेम्पा तामाङको भनाइ छ, ‘यो परीक्षण सफल भएको हेरेपछि गाउँले मिलेर स्याउ खेती गरिन्छ ।’ उता इसिमोडका अर्गानिक कृषिविज्ञ राजे ढकालको भनाइ यस्तो छ, ‘अहिले नै परीक्षण सफल भएको भन्न मिल्दैन, फल लागेर फलेको फलले आम्दानी दिन थालेपछि मात्रै परीक्षण सफल भएको मान्न सकिन्छ ।’
फरक–फरक जातका स्याउका बिरुवा हावापानी मिल्ने ठाउँ भारतको हिमाञ्चल प्रदेशबाट ल्याएर रोपिएको हो । अनुसन्धानकै क्रममा भएकोले कुन राम्रो हुन्छ, त्यही जातलाई अघि बढाउने उद्देश्यले परीक्षण भइरहेको जलवायु उत्थानशिल कृषि अनुसन्धानकर्ता श्याम भट्टले बताउनुभयो ।
स्याउ खेती प्रशिक्षक कृष्ण झामका अनुसार स्थानीय ५० भन्दा बढी घर–परिवारले आफ्नो घरको बगैँचामा स्याउ रोपनमामा भाग लिएका थिए । चिसो र उच्च भागमा परीक्षणका लागि चिसो हावापानीमा रातो स्वादिलो, गोल्डेन, सुपर, सुपर गोल्डेन र अन्य प्रजातिका बिरुवाहरु रोपिएको छ ।











प्रतिक्रिया