नयाँ सडकका व्यवसायी साहमाथि मिटरब्याज र ठगीको आरोप, निष्पक्ष छानबिनको माग


काठमाडौं ।

काठमाडौंको नयाँ सडक क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीविरुद्ध मिटरब्याज, आर्थिक विश्वासघात तथा खाली चेकको दुरुपयोग गरेको आरोप लगाउँदै केही पीडितहरूले सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन्।

पीडितहरूको दाबीअनुसार ती व्यवसायीले मोबाइल व्यवसायको आवरणमा विभिन्न व्यक्तिलाई उच्च ब्याजदरमा रकम उपलब्ध गराउने, त्यसबापत खाली चेकमा हस्ताक्षर गराएर लिने र ऋण चुक्ता भइसकेपछि पनि उक्त चेक प्रयोग गरी चेक बाउन्ससम्बन्धी मुद्दा हाल्ने प्रयास गर्ने गरेका छन्।

एक पीडितले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने, व्यवसाय सञ्चालनका लागि उहाँबाट रकम लिएको थिएँ। सबै रकम फिर्ता गरिसकेपछि पनि मैले दिएको खाली चेक फिर्ता पाइएन। अहिले त्यही चेक प्रयोग गरेर दबाब दिइएको छ।

केही पीडितहरूले ती व्यवसायीले विभिन्न सहकारी संस्थाबाट ऋण लिएर मिटरब्याजमा लगानी गर्ने तथा ऋण असुलीका क्रममा विभिन्न माध्यमबाट दबाब दिने गरेको आरोप पनि लगाएका छन्। उनीहरूले यी आरोपहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

स्थानीय व्यापारीहरूका अनुसार आरोपित व्यक्ति पछिल्लो समय आफूले सञ्चालन गर्दै आएको मोबाइल पसलमा नियमित रूपमा नदेखिएको बताएका छन्। केही व्यापारीले यस्ता गतिविधिका कारण व्यवसायिक वातावरण प्रभावित भएको दाबी गरेका छन्। यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यस विषयमा आरोपित व्यवसायी सुधिर साहसँग प्रतिक्रिया लिन उहाँको मोबाइल नम्बर ९८५१०५४०५२ मा पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन। उहाँको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि प्राथमिकताका साथ प्रकाशित गरिनेछ।

प्रहरी स्रोतले भने यस विषयमा औपचारिक उजुरी परे कानुनबमोजिम अनुसन्धान हुने जनाएको छ। कानुनविद्हरूका अनुसार खाली चेकको दुरुपयोग, ठगी वा आपराधिक विश्वासघातसम्बन्धी आरोप पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही हुन सक्छ। तर आरोपमात्रका आधारमा कसैलाई दोषी भन्न नमिल्ने भएकाले सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।