काठमाडौं।
एशियन पेन्ट्स नेपालले आयोजना गरेको ‘कलर नेक्स्ट’ अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
युवा वास्तुकार तथा आन्तरिक डिजाइनरहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यावसायिक क्षमताको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम शुक्रबार काठमाडौंको ठमेलस्थित एलोफ्ट बाई मेरियटमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इ. गोपालप्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, नेपाल इन्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाललगायत विभिन्न संघ–संस्था, शैक्षिक संस्थाका प्रतिनिधि, आर्किटेक्ट, डिजाइनर तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
एशियन पेन्ट्स नेपालले भावी वास्तुकार तथा आन्तरिक डिजाइनरलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले ‘कलर नेक्स्ट’ प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएको छ। प्रतियोगिताले विद्यार्थीलाई उद्योगको वास्तविक कार्य वातावरणसँग जोड्दै सिर्जनात्मक क्षमता र पेशागत दक्षता विकासमा सहयोग पुर्याउँदै आएको छ।
यस वर्षको प्रतियोगितामा देशका विभिन्न प्राविधिक शैक्षिक संस्थाबाट सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। वरिष्ठ आर्किटेक्ट, सोसाइटी अफ नेपाली आर्किटेक्ट्सका प्रतिनिधि तथा शहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारी सम्मिलित निर्णायक मण्डलले बहुचरणीय मूल्याङ्कनमार्फत उत्कृष्ट डिजाइन छनोट गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताको विजेताको उपाधि आईओई, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरेले हात पारेका छन्। यस्तै, आईओई पूर्वाञ्चल क्याम्पसका सुमन बी.के. प्रथम उपविजेता र हिमालय कलेज अफ इन्जिनियरिङकी अदिति रिजाल द्वितीय उपविजेता घोषित भएका छन्।
विजेता विद्यार्थीहरूको डिजाइन अवधारणाले नेपालका भावी वास्तुकार तथा डिजाइनरहरूको सिर्जनशील क्षमता र सम्भावना उजागर गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विजेता डिजाइनको थ्रीडी (3D) मोडल सार्वजनिक गरिएको थियो। साथै, विजेता अवधारणात्मक डिजाइनलाई शहरी विकास तथा भवन निर्माण विभागसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
एशियन पेन्ट्स नेपालले शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै युवा प्रतिभालाई सिर्जनात्मक अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार ‘कलर नेक्स्ट’ को १३औँ संस्करणले नवप्रवर्तन, प्रेरणा र उत्कृष्टताको यात्रामा महत्वपूर्ण योगदान पुर्याएको छ।











प्रतिक्रिया