नबिल बैंकको ४२औँ वार्षिकोत्सव, ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत भविष्यको बैंकिङ यात्रामा जोड


काठमाडौं।

नेपालको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठ्दै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अघि बढाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगमार्फत भविष्यको बैंकिङ यात्रालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बैंकले ४२औँ वार्षिकोत्सवका अवसरमा ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा दिगो वित्तीय सेवा विस्तार गर्ने लक्ष्यसहित नयाँ रणनीति सार्वजनिक गरेको हो।

वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहक तथा सरोकारवालाले दिएको विश्वास रहेको बताए। उनले ४२ वर्षको यात्रामा बैंकले नेपाली बैंकिङ क्षेत्रमा प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे।

“विश्वास हाम्रो सम्पत्ति र नवप्रवर्तन हाम्रो डीएनए हो,” अध्यक्ष चौधरीले भने। उनले नबिल बैंकले आधुनिक बैंकिङको जग निर्माण गर्दै डिजिटल बैंकिङ सेवामार्फत ग्राहकको अनुभवलाई परिवर्तन गरेको बताए।

उनका अनुसार नबिल बैंकले वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट तथा डिजिटल बैंकिङसहितको एकीकृत वित्तीय सेवा प्रणाली विकास गरेको छ।

एआई प्रविधिमा केन्द्रित हुने योजना

अध्यक्ष चौधरीले बैंकिङ क्षेत्र अहिले एआई प्रविधिको युगमा प्रवेश गरिरहेको भन्दै नबिल बैंकले यस परिवर्तनको नेतृत्व गर्ने तयारी गरेको बताए।

उनले एआई प्रविधिले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, ग्राहक सेवा र बैंकिङ सञ्चालनलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै एनबैंक डिजिटल प्लेटफर्मको विकासमा एआईलाई केन्द्रमा राखिने जानकारी दिए।

उनका अनुसार एआईको प्रयोगबाट छिटो कर्जा प्रवाह, प्रभावकारी जोखिम व्यवस्थापन, व्यक्तिगत ग्राहक अनुभव, वित्तीय पहुँच विस्तार र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्नेछ।

वित्तीय सूचकांकमा उल्लेखनीय वृद्धि

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले ४२ वर्षको यात्रामा साथ दिने ग्राहक, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

उनले सन् १९८४ मा नेपालको पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको नबिल बैंक अहिले लाखौँ ग्राहकको विश्वासिलो साझेदार बन्न सफल भएको बताए।

बैंकका अनुसार आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

सुरुवाती चरणमा १४ करोड ६० लाख रुपैयाँ रहेको निक्षेप अहिले ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको जनाएको छ।

कृषि, ऊर्जा र साना उद्योगमा ठूलो लगानी

नबिल बैंकले देशको आर्थिक विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार हालसम्म कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरिएको छ।

ग्राहकका लागि विशेष योजना

४२औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म लागू हुने विभिन्न ग्राहक केन्द्रित योजना तथा अफरहरू सार्वजनिक गरेको छ।

बैंकले हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारबाट प्रभावित नागरिकलाई लक्षित गर्दै पुनःनिर्माण घर कर्जा योजना ल्याएको जनाएको छ। यस्तै, लकर सेवा, इलेक्ट्रोनिक पेमेन्ट गेटवे, क्रेडिट कार्ड तथा डेबिट कार्ड सेवामा समेत विशेष छुट उपलब्ध गराउने घोषणा गरेको छ।

बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

नबिल बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, दिगो बैंकिङ र प्रविधिमा आधारित वित्तीय सेवामार्फत ग्राहक तथा राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।