राहुल मोदीसँग हलमै फिल्म हेर्दै देखिइन् श्रदा कपूर, भाइरल भिडियोले फेरि चर्कायो डेटिङ चर्चा


काठमाडौं ।

 बलिउड अभिनेत्री श्रदा कपूर र उनका चर्चित रुमर्ड ब्वायफ्रेन्ड राहुल मोदी फेरि एकपटक चर्चामा आएका छन्। यसपटक दुवैलाई सँगै  फिल्म हेर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूको सम्बन्धबारे नयाँ बहस सुरु भएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा श्रदा र राहुल मुम्बईको एक सिनेमा हलमा अक्षय कुमार अभिनीत कमेडी फिल्म वेलकम टु द जंगल हेर्दै गरेको देखिन्छ। भिडियोमा श्रदा फिल्मको दृश्य हेर्दै हाँसिरहेकी छिन् भने राहुल उनको छेउमै बसेर फिल्मको आनन्द लिइरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भिडियो हलभित्र रहेका एक दर्शकले गोप्य रूपमा खिचेका थिए। भिडियो सार्वजनिक गर्दै ती दर्शकले लेखेका छन्, भारतकी नेशनल क्रश श्रदा कपूरसँगै  वेलकम टु द जंगल’ हेर्दै छु । त्यसपछि भिडियो तीव्र रूपमा भाइरल भएको हो।

श्रदा र राहुलको सम्बन्धबारे चर्चा सन् २०२४ को सुरुदेखि नै हुँदै आएको छ। उनीहरू पहिलोपटक मुम्बईको एक रेस्टुरेन्टबाट सँगै बाहिरिँदै गर्दा क्यामेरामा कैद भएका थिए। त्यसयता दुवैलाई विभिन्न कार्यक्रम र सार्वजनिक स्थानमा सँगै देखिँदै आएको छ।

गत वर्ष श्रदाले राहुलसँगको एक सेल्फी इन्स्टाग्राममा साझा गरेकी थिइन्। उक्त तस्वीरमा उनले राहुलको हात समातेकी थिइन् । त्यसपछि उनीहरूको प्रेम सम्बन्धको चर्चा अझ चुलिएको थियो।श्रदा र राहुल दुवैले अहिलेसम्म आफ्नो सम्बन्धबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।