अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

4.61k
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङलाई बिहानी खाजाका रूपमा दिइएको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

गृहमन्त्री गुरुङ भरतपुरस्थित लड्स प्लाजा होटलमा बस्दै आउनुभएको थियो। बिहान खाजा खाने क्रममा अम्लेटमा माछाको काँडा फेला परेपछि उहाँले होटल व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको बताइएको छ। त्यसलगत्तै घटनाबारे प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई जानकारी गराइएको थियो।

प्रहरी स्रोतका अनुसार घटनाको वास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली होटल पुगेको थियो। टोलीले अम्लेट तयार पार्ने दुई कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछका लागि प्रहरी कार्यालय ल्याएको जनाएको छ।

घटनाबारे प्रतिक्रिया दिँदै एसपी पौडेलले ग्राहकलाई प्रदान गरिएको खानामा अखाद्य वस्तु भेटिएको विषयमा तथ्य बुझ्न सम्बन्धित कर्मचारीसँग सोधपुछ गरिएको बताउनुभयो। प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि कानुनी प्रक्रिया अनुसार उनीहरूलाई छाडिने पनि उहाँले जानकारी दिनुभयो।

महाधिवेशनका गतिविधि चलिरहेका बेला भएको उक्त घटनाले केही समय चितवनमा चर्चा पाएको थियो। होटल व्यवस्थापनले समेत घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।