खाँदबारी ।
संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदीबन्दीको हत्या भएको घटनामा जिल्ला अदालत संखुवासभाले सात जना प्रहरी तथा सुरक्षा कर्मचारी र आठ जना कैदीबन्दीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिम दोषी ठहर गर्दै उक्त फैसला गरेको हो। अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार दोषीहरूलाई जन्मकैद सजायका साथै मृतकका नजिकका हकदारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिइएको छ।
यो घटना २०८० साउन २४ गते भएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका मादी नगरपालिका–५ संखुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई सुरक्षाकर्मी र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेका थिए। सोही कुटपिटका कारण दुवै जनाको मृत्यु भएको अनुसन्धानबाट पुष्टि भएको थियो।
घटनापछि तत्कालीन कारागार इन्चार्ज प्रहरी सहायक निरीक्षकसहित सात जना प्रहरी तथा सुरक्षा कर्मचारी र आठ जना कैदीबन्दीलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो। अदालतको आदेशअनुसार मुद्दाको पुर्पक्षका क्रममा प्रहरीहरूलाई धनकुटा कारागार तथा कैदीबन्दीहरूलाई तेह्रथुम कारागारमा राखिएको थियो।
अदालतले प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राईलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ।
यस्तै, कैदीबन्दी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई, मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैदको सजाय सुनाइएको अदालतले जनाएको छ।
कारागारभित्र भएको कुटपिटबाट मृत्यु भएको घटनामा सुरक्षाकर्मी र कैदीबन्दी दुवैलाई समान रूपमा जिम्मेवार ठहर गर्दै आएको यो फैसला कारागार व्यवस्थापन, मानवअधिकार संरक्षण र हिरासतमा रहेका व्यक्तिको सुरक्षासम्बन्धी प्रश्नमा महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।











प्रतिक्रिया