भाइरल भिडियोबारे सांसद सृष्टिको स्पष्टीकरण : ‘पुरानो निजी क्षणलाई अनावश्यक रूपमा विवादित बनाइयो’


काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोबारे स्पष्टीकरण दिएकी छन्। कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरिरहेको देखिएको भिडियो सार्वजनिक भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा राखेकी हुन्।

भट्टराईले उक्त भिडियो हालको नभई धेरै वर्षअघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो भएको स्पष्ट पारेकी छन्। उनका अनुसार भिडियो सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी जीवनसँग सम्बन्धित छ।

उनले भिडियोमा आफू चालक नभई यात्रुको रूपमा रहेको र केही क्षण रमाइलो गर्ने क्रममा झ्यालबाट बाहिर हेर्दै गरेको दृश्य मात्र देखाइएको बताएकी छन्। सो गतिविधिलाई राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उपयुक्त नहुने उनको भनाइ छ।

सांसद भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिप्रति नागरिकको चासो स्वाभाविक भए पनि त्यसले व्यक्तिको निजी जीवन र व्यक्तिगत स्वतन्त्रताको अधिकार समाप्त नहुने उल्लेख गरेकी छन्। आफू सार्वजनिक पदमा रहे पनि सर्वप्रथम एक नागरिक भएको र अन्य नागरिकसरह निजी जीवन जिउने अधिकार रहेको उनको तर्क छ।

यद्यपि, उनले भिडियोमा देखिएको व्यवहार ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्ने स्वीकार गरेकी छन्। विगतका अनुभवबाट सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै उनले सबै नागरिकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन्।

भट्टराईले एउटा छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु उचित नहुने बताएकी छन्। व्यक्तिको कार्यसम्पादन, व्यवहार र योगदानलाई समग्र रूपमा हेर्नुपर्ने उनको धारणा छ।

साथै, उनले जनताको विश्वासप्रति आफू प्रतिबद्ध रहेको र इमान्दारिता, जवाफदेहिता तथा समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहने बताएकी छन्।