गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स २५औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता


काठमाडौं ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा २४औँ वार्षिकोत्सव मनाउँदै २५औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले २०५९ जेठ ३० गतेदेखि वित्तीय कारोबार सुरु गरेको थियो।

वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गर्दै आएका विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। यस क्रममा ललितपुरको बुङमतीस्थित श्री अपाङ्ग सेवा संघ लाई विगत आठ वर्षदेखि उपलब्ध गराउँदै आएको खाद्यान्न सहयोग आगामी वर्षका लागि पनि निरन्तरता दिने सम्बन्धमा सम्झौता गरिएको छ।

त्यसैगरी, वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। साथै विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविर पनि आयोजना गरिएको संस्थाले जनाएको छ।

संस्थाले वित्तीय साक्षरता अभिवृद्धि तथा विभिन्न सामाजिक गतिविधिमा विगतदेखि नै सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

हाल संस्थाले देशभरका २३ शाखा कार्यालय र चार विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थाले एटीएम सेवा, ई–सेवा, कनेक्ट आईपीएस, आरटीजीएस, फन्ड ट्रान्सफर, मोबाइल बैंकिङ, डिम्याट खाता, विप्रेषण सेवा लगायतका आधुनिक बैंकिङ सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा संस्थाले आफ्ना ग्राहक, सेयरधनी, शुभेच्छुक, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सुदृढ, सरल, विश्वसनीय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

संस्थाकी सहायक महाप्रबन्धक तथा सूचना अधिकारी अर्चना प्रधानले जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।