काठमाडौं ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला १८ वर्षअघि आफूले बाइपास सर्जरी गरेर ज्यान बचाएका पूर्व गल्फ खेलाडी घनश्याम थापाको जीवनी तथा गल्फ खेलसम्बन्धी पुस्तक ‘गल्फ’ को विमोचन कार्यक्रममा सहभागी भएका छन्।
मध्यपुर थिमीमा आयोजित कार्यक्रममा डा. कोइराला र नेपाली सेनाका पूर्व प्रधानसेनापति प्यारजङ्ग थापाले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
पुस्तकमा १० वर्षको उमेरदेखि गल्फ खेलाडीहरूले हानेका बल खोज्ने ‘बल ब्वाई’ बाट नेपालको पहिलो व्यावसायिक गल्फ खेलाडी बन्ने घनश्याम थापाको संघर्षपूर्ण यात्रा समेटिएको छ। साथै उनले सन् १९७५ र १९७७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दासम्मका अनुभवहरू पनि पुस्तकमा उल्लेख गरिएका छन्।
घोस्ट राइटिङ नेपालअन्तर्गत लेखन कुन्जद्वारा प्रकाशित पुस्तकको सम्पादन अर्जुन ढुङ्गानाले गरेका हुन्।

कार्यक्रममा लेखक तथा पूर्व व्यावसायिक गल्फ खेलाडी घनश्याम थापाले पुस्तकमा समेटिएका आफ्ना अनुभव र गल्फ यात्राबारे प्रकाश पारेका थिए।
सो अवसरमा डा. भगवान कोइरालाले थापाको तीनपटक मुटुको शल्यक्रिया गरिए पनि उनको दृढ इच्छाशक्ति र आत्मविश्वासका कारण ७९ वर्षको उमेरमा समेत सक्रिय र ऊर्जाशील रहेको बताए।
“उहाँ ज्याद्रो हुनुहुन्छ, त्यसैले अहिलेसम्म पनि उत्तिकै सक्रिय हुनुहुन्छ,” डा. कोइरालाले भने।
कार्यक्रममा थापाकी छोरीहरू डा. भवानी कार्की घिमिरे र गायत्री कार्की, ज्वाइँ तथा अवकाशप्राप्त सहायक रथी विष्णु कार्की, लेखन कुन्जका अध्यक्ष कमल ढकाल तथा खेल पत्रकार महेश आचार्यले पनि पुस्तकका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए।
पुस्तक बिक्रीबाट प्राप्त रकम ‘घनश्याम थापा फाउण्डेशन’ मा जम्मा गरिने र उक्त रकम नेपालमा गल्फ खेलको विकास तथा प्रवर्द्धनमा खर्च गरिने जानकारी दिइएको छ।
यसअघि पनि घनश्याम थापाले फाउण्डेशनका लागि व्यक्तिगत रूपमा ५० लाख रुपैयाँको कोष स्थापना गरिसकेका छन्।











प्रतिक्रिया