रास्वपा मधेश प्रदेश अधिवेशनमा विवादै विवाद, पर्सामा कुटाकुटबीच सम्पन्न

1.88k
Shares

वीरगन्ज। 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेशका अधिवेशनमा विवाद नै विवाद देखिएको छ । जसले गर्दा  राष्ट्रिय महाधिवेशन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने निश्चित भएको छ  । निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको अधिवेशन महाधिवेशन अगाडि हुने सम्भावना नरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेस अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिएको थियो ।आयोगका प्रमुख भुवन केसीले राष्ट्रिय महाधिवेशनको मिति नजिकिएकाले मधेसको अधिवेशन तत्काल हुने सम्भावना नरहेको बताउनुभयो । मधेस प्रदेशमा विवाद तथा दुई पक्षीय झडपका कारण पर्सा बाहेक अन्य ७ जिल्लाको अधिवेशन पनि स्थगित भएको थियो । यद्यपि, महाधिवेशन अगावै अधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व र निर्वाचन अयोगसँग पहल भइरहेको प्रदेशका महामन्त्री मनिषकुमार साहले बताउनुभयो ।

 निर्वाचित सांसदहरूले पार्टी स्थापनाकालदेखि नै पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका भएकाले हस्तक्षेप हुनु स्वाभाविक रहेको उहाँको तर्क छ । जिल्ला स्तरीय नेताहरूले पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा, प्रदेश सभापति तपेश्वर यादव, समानुपातिक सांसद पुरुषोत्तम यादव लगायत नेताहरूको स्वार्थका कारण अधिवेशन स्थगित भएको आरोप लगाएका छन् ।

 मधेश प्रदेशको एकमात्र पर्सा जिल्लामा भने विवाद र कुटाकुटकैबीचमा अधिवेशन सम्पन्न भएर पर्सा क्षेत्र नम्बर एकका सांसद समेत रहेका हरि पन्त पुनः सभापतिमा निर्वाचित हुनुभएको हो । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील शाह र पन्तका समर्थककाबीचमा कुटाकुट र झडप नै भएको थियो । यद्यपी पर्सामा चुनाव गराउन सक्नु सकारात्मक पक्ष रहेको र रास्वपामा विवाद नरहेको पर्साका सभापति एवम् सांसद हरि पन्तले दाबी गर्नुभयो ।