कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा व्यापक मन्त्री हेरफेर हुने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाह ले नेपाली कांग्रेसको कोटाबाट सरकारमा रहेका सबै मन्त्रीलाई परिवर्तन गर्ने तयारी थालेका छन्।
कांग्रेसभित्र लामो समयदेखि देखिएको असन्तुष्टि व्यवस्थापन गर्न पार्टीको असन्तुष्ट पक्षले नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाएसँगै शपथ ग्रहणको तयारीसमेत सुरु भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अछामबाट मानबहादुर रावल र कञ्चनपुरबाट बेलबहादुर राना मन्त्री बन्ने निश्चित भएको छ। त्यसैगरी बाजुराकी जुना दानी लाई राज्यमन्त्री बनाउने निर्णय गरिएको बताइएको छ।
कांग्रेसभित्र सरकारमा प्रतिनिधित्व र अवसर वितरणलाई लिएर लामो समयदेखि असन्तुष्टि बढ्दै गएको थियो। सोही असन्तुष्ट पक्षलाई समेट्न मुख्यमन्त्री शाहले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्।
यता सत्ता साझेदार नेकपा एमालेले भने अन्तिम समयमा आएर आफ्नो निर्णय परिवर्तन गरेको छ। यसअघि केन्द्रबाट नयाँ मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई पठाइएको चर्चा भए पनि तत्कालका लागि पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने निर्णय गरिएको स्रोतको दाबी छ।
एमालेले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय लिएपछि प्रदेश सरकारमा कांग्रेसतर्फ मात्रै व्यापक फेरबदल हुने देखिएको छ। कांग्रेसका नयाँ मन्त्रीहरूको शपथ ग्रहण छिट्टै हुने तयारी भइरहेको प्रदेश सरकार स्रोतले जनाएको छ।
मन्त्रीमण्डल पुनर्गठनलाई कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ। नयाँ अनुहारलाई जिम्मेवारी दिएर पार्टीभित्रको असन्तुष्टि कम गर्ने रणनीतिअनुसार मुख्यमन्त्री शाह अघि बढेको बताइएको छ।
प्रदेश सरकारमा हुने यो फेरबदलले सुदूरपश्चिमको राजनीतिक समीकरण र सरकार सञ्चालनमा समेत नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया