काठमाडौं ।
आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वित्तीय तथा संस्थागत क्षमता सुदृढ बन्दै गएको संकेतस्वरूप रेटिङ स्तरोन्नति हासिल गरेको छ। कम्पनीले यसअघि प्राप्त ‘केयर–एनपी बीबीबी’ रेटिङबाट स्तरोन्नति हुँदै ‘केयर–एनपी ए–’ रेटिङ प्राप्त गरेको जनाएको छ।
कम्पनीका अनुसार रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनको मूल्याङ्कनपछि नयाँ रेटिङ प्रदान गरेको हो।
‘केयर–एनपी ए–’ रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा संस्थागत रूपमा थप सुदृढ बनेको संकेत गर्ने कम्पनीले जनाएको छ।
कम्पनी व्यवस्थापनले यो उपलब्धिलाई ग्राहक, लगानीकर्ता, अभिकर्ता तथा अन्य सरोकारवालाको विश्वास र सहयोगको प्रतिफलका रूपमा लिएको छ। आगामी दिनमा ग्राहक सेवा, सुशासन, नवप्रवर्तन र दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।
जीवन बीमा क्षेत्रमा सक्रिय आईएमई लाइफले देशभर शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले विभिन्न जीवन बीमा योजनामार्फत नागरिक तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्न योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीले डिजिटल प्रविधिमा आधारित सेवा विस्तार, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत नेपाली बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको दाबी गरेको छ। साथै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जनाएको छ।
कम्पनीका अनुसार ‘केयर–एनपी ए–’ रेटिङ प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई आगामी दिनमा अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड र वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणासमेत हो। कम्पनीले भविष्यमा पनि बीमितहरूको हित संरक्षण गर्दै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया