काठमाडौं ।
अत्यधिक कर्मचारीहरूले विदा लिएको विषयमा अनियमितता देखिएपछि सशस्त्र प्रहरी बल नेपालले सल्यान र जाजरकोट गुल्मका गुल्मपतिलाई कमाण्डबाट फिर्ता बोलाएको छ।
सशस्त्र प्रहरीका अनुसार ती दुई गुल्ममा कार्यरत कर्मचारीहरूले अत्यधिक रूपमा विदा लिएको सम्बन्धमा उजुरी परेपछि सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले छानबिन टोली खटाएको थियो। वरिष्ठ उपरीक्षकको नेतृत्वमा गरिएको छानबिनपछि प्राप्त प्रतिवेदनका आधारमा सम्बन्धित गुल्मपतिलाई प्रधान कार्यालयमा झिकाई विभागीय कारबाही गरिएको हो।
सशस्त्र प्रहरी बलले उनीहरूलाई हाल कानून निर्देशनालयमा हाजिर गराइएको जनाएको छ। साथै, उनीहरूको स्थानमा छिट्टै नयाँ कमाण्डर खटाइने तयारी गरिएको छ।
यसैबीच, केही दिनअघि मुस्ताङको कोरला नाका हुँदै अवैध रूपमा भित्रिएको भनिएको भेप प्रकरणमा पनि सुरक्षा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमाण्डरमाथि समेत छानबिन अघि बढाइएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टका अनुसार छानबिनका आधारमा आवश्यक विभागीय प्रक्रिया अघि बढाइएको हो।











प्रतिक्रिया