कान्सको निर्णायक मण्डलमा आचार्य


काठमाडौं।

प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जित आचार्य १७ औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवाड्र्स २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् । विश्वव्यापी रूपमा कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडियाको क्षेत्रमा प्रतिष्ठित मानिने यस अवार्डको निर्णायक मण्डलमा नेपाली प्रतिनिधित्व हुनु नेपालको विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

महोत्सवको निर्णायक मण्डलमा विगतमा ओस्कार तथा एमी अवार्ड विजेताहरूसमेत सहभागी भइसकेका छन् । गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु तथा ह्वाइट डल्फिन ट्रफी प्रदान गरिने यो अवार्ड कर्पोरेट फिल्म क्षेत्रको सर्वोच्च सम्मानमध्ये एक मानिन्छ । आगामी १७ औँ संस्करणमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश गरिएका छन्, जहाँ विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, प्रसारण संस्था, ग्राहक संगठन तथा विद्यार्थीहरूको सहभागिता रहनेछ ।

तीन दशकभन्दा बढी समयदेखि विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क क्षेत्रमा सक्रिय आचार्य नेपालको सञ्चार तथा विज्ञापन उद्योगका अग्रणी व्यक्तित्वमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले ‘कृति अवार्ड’मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि प्राप्त गरेको छ ।

मनोनयनबारे प्रतिक्रिया दिँदै आचार्यले सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट नहुने उल्लेख गर्दै सत्य र उत्कृष्ट प्रस्तुतीकरणसहित सुनाइने हरेक कथा विश्वमञ्चमा पुग्न योग्य हुने बताए। उनले यो उपलब्धि आफ्नो मात्र नभई ठूलो सपना देख्न साहस गर्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको साझा उपलब्धि भएको धारणा व्यक्त गरे।