प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध, प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विपक्षीको विरोध

0
Shares


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह ले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।


सभामुख डीपी अर्याल ले बैठक प्रारम्भ भएको जानकारी गराउँदै कार्यसूची अघि बढाउने प्रयास गरे पनि विपक्षी सांसदहरूको निरन्तर नाराबाजी र विरोधका कारण सदनको कामकारबाही अगाडि बढ्न सकेन।


विपक्षी दलहरूले प्रधानमन्त्री शाहले हालै दिएको “नेपालले भारतको भूमि मिचेको” भन्ने आशयको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि आघात पुगेको भन्दै त्यसबारे प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। उनीहरूले उक्त अभिव्यक्तिप्रति सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न समेत आग्रह गरेका छन्।


सदनमा विरोध जारी रहेपछि सभामुख अर्यालले सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरे।


यसअघि पनि यही विषयलाई लिएर विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्। संसद् लगातार प्रभावित हुँदा विधेयक तथा अन्य महत्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन्।


विपक्षी दलहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध जारी रहने संकेत दिएका छन् भने सत्ता पक्षले संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। संसद् सञ्चालन सहज बनाउने विषयमा दलहरूबीच थप छलफल हुने बताइएको छ।